प्रिटोरिया । दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलमा समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घ बालकोष (युनिसेफ) ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दे सो कुरा जनाएको हो ।
उमेर, लिङ्ग, शिक्षा, आम्दानी र छालाको रङ्गका कारण भेदभाव हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो प्रतिवेदन नोभेम्बर २० मा मनाइने विश्व बालदिवसको केही अगाडि मात्र जारी गरिएको हो ।
प्रतिवेदनका अनुसार करिब ८० प्रतिशत युवा उत्तरदाताले भेदभावले उनीहरूको जीवन प्रगतिमा असर गरेको महसुस गरेका छन् ।
बालबालिका विरुद्धको हिंसाको स्तर र दक्षिण अफ्रिकामा युवा जीवनलाई असर गर्ने र भेदभाव गर्ने असमानतालाई तत्कालै सम्बोधन गरिनुपर्ने युनिसेफ दक्षिण अफ्रिका प्रतिनिधि क्रिस्टिन मुहिगानाले बताएका छन् ।
‘बालबालिका विरुद्ध हुने भेदभाव विरुद्ध हामी सबैले लड्नुपर्छ’ उनले भनिन् ।
‘विश्व बालदिवस हरेक बालबालिकाको अधिकारका लागि हाम्रो आह्वानलाई बलियो बनाउने क्षण हो’ उनले जोड दिइन् । (रासस–सिन्ह्वा)





