किभ । युद्धको मार खेपिरहेको युक्रेनका एक करोडभन्दा बढी जनता बिजुलीविहीन भएका छन् ।
राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका अनुसार रुसी आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्याएपछि एक करोडजति युक्रेनीले यस्तो अवस्था भोग्नुपरेको हो ।
‘हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक बिजुलीविहीन भएका छन्’ उहाँले भन्नुभयो । विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाई र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् ।
राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो– ‘हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं ।’
रुस विरुद्ध विजय हासिल गरेपछि युक्रेनले आफ्नो बिद्युत् ग्रिडमाथि आक्रमणको सामना गर्नुपरेको छ । पछिल्लो समय दक्षिणी सहर खेरसनबाट मस्को पछि हटेको छ ।
युक्रेनका विभिन्न सहरमा एएफपीका पत्रकारले पछिल्लो आक्रमण यस सिजनको पहिलो हिमपातसँगै भएको बताएका छन् । युक्रेनको बिद्युत् पूर्वाधारमा ठुलो क्षतिका कारण अधिकारीहरूले ग्रिडलाई सन्तुलनमा राख्न बिजुली कटौती गरिरहेका छन् । (रासस/सिन्ह्वा)