काठमाडौँ । निर्वाचन आयोगले धर्मको नामबाट चुनाव प्रचार प्रसार नगर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलद्वारा २०७९ कात्तिक १४ गते प्रेसविज्ञप्तिमा जारी गर्दै यस्तो आग्रह गरिएको हो ।
आयोगले मङ्सिर ४ गतेको चुनाव प्रचारको क्रममा “निर्वाचन आचार संहिता–२०७९” को हेक्का राख्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
आचार संहिताको दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदानभन्दा १७ दिनअघि देखि मात्र चुनाव प्रचार प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चार माध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रंसार गर्ने सकिनेतर्फ आयोगले सजग गराएको छ ।
आयोगले सोही प्रावधानअन्तर्गत आगामी कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म चुनाव प्रचार प्रसार गर्न सकिने ब्यहोरा स्मरण गराएको छ ।
निर्वाचन प्रचार प्रसारको क्रममा आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा सम्बन्धित दलले निर्वाचन सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने बताएको छ ।
एवम् प्रकारले आयोगले जारी गरेको विज्ञप्तिमा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट वा जुनसुकै र्याली गर्दा पनि दसओटा भन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न नहुने, उम्मेदवार वा निजको परिवारलाई कुनै पनि तबरबाट डर, त्रास तथा धम्की दिन नहुने, कुनै पनि प्रकारले साम्प्रदायिक विद्वेष फैलाउन नहुनेतर्फ दलहरूलाई सचेत गराएको छ ।