बेइजिङ । चीनले लस्कर ए तोयबा (एलइटी) का सदस्यलाई विश्व आतङ्कवादी घोषणा गर्ने भारत र अमेरिकाको प्रस्तावप्रति असहमति जनाएको छ ।
भारत र अमेरिकाको सहयोगमा पाकिस्तानस्थित उक्त समूहका सदस्य शाहिद महमुदलाई विश्व आतङ्कवादीका रूपमा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत प्रस्तावलाई चीनले अस्वीकार गरेको हो ।
यसअघि पनि तीनपटक प्रस्तुत भइसकेको उक्त प्रस्तावको विपक्षमा चीन उभिएको थियो । अमेरिका र भारतले बुधवार महमुदलाई राष्ट्रसङ्घीय सुरक्षा परिषद्को १२६७ अलकायदा प्रतिबन्ध समितिअन्तर्गत वैश्विक आतङ्ककारीका रूपमा कालोसूचीमा राख्ने प्रस्ताव पेस गरेका थिए । एलइटीका सदस्य साजिद मिर, एलइटी र जमात–उद–दावाका नेता अब्दुल रहमान मक्की र अब्दुल रउफलाई आतङ्कवादीमा सूचीकृत गर्न प्रस्ताव गरिएको थियो ।
यसअघि पनि चीनले साजिद मीरलाई विश्व आतङ्कवादी घोषणा गर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो । उनी एलइटीका शीर्ष कमान्डर हुन् । उनी सन् २००८ को मुम्बईमा भएको आतङ्कवादी हमलाका मुख्य योजनाकारमध्ये एक मानिन्छन् । मिर भारत र पश्चिमी देशलगायत धेरै देशका नागरिकको मृत्युका निम्ति जिम्मेवार मानिन्छन् ।
२००८ को नोभेम्बर २६ मा एलइटीका १० जना आतङ्कवादी समुद्रीमार्गबाट मुम्बइ पुगेका थिए । उनीहरूले मुम्बईको ताज होटलमा आक्रमण गर्दा १८ जना सुरक्षाकर्मीसहित एक सय ६६ जनाको ज्यान गएको थियो । आतङ्कवादीले तीन दिनसम्म होटलमा बसेकालाई बन्दी बनाएका थिए ।