गुआनाजुआटा । मध्य मेक्सिकोको एक बारमा शनिबार भएको गोलीकाण्डमा परी १२ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले सो जानकारी दिएका हुन् ।
‘प्रहरीले शनिबारको आक्रमण इरापुटो सहरको बारमा राति ८ बजे सशस्त्र समूहले प्रवेश गरी ग्राहक र कर्मचारीमाथि गोली चलाउँदा यो घटना भएको विश्वास गरिएको छ । घटनामा कम्तीमा छ जना पुरुष र छ जना महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन्’ नगरपालिका सरकारले एक विज्ञप्तिमा जनाएको छ ।
एक जनाको शव बाहिर मोटरसाइकलको छेउमा फेला परेको थियो भने बाँकी मृतक बारभित्रै फेला परेको प्रहरीले जनाएको छ ।
आक्रमणकारीलाई राज्य प्रहरी, सेना, अभियोजकको कार्यालय र नेसनल गार्डले खोजी गरिरहेको नगरपालिका सरकारले जनाएको छ ।
यो आक्रमण गुआनाजुआटोमा एक महिनाभन्दा कम अवधिमा भएको दोस्रो सामूहिक गोलीकाण्ड हो । सेप्टेम्बरमा राज्यको तारिमोरो
नगरपालिकाको पोखरी हलमा सशस्त्र आक्रमणकारीले दस जनाको हत्या गरेका थिए ।
यस महिनाको सुरुमा सङ्गठित अपराध समूहले नजिकैको राज्य गुरेरोको सान मिगुएल टोटोलापनको टाउन हलमा मेयरसहित २० व्यक्तिको हत्या गरेका थिए ।
बढ्दो हिंसाले यस क्षेत्रलाई देशको सबैभन्दा खतरनाक मध्ये एक बनाएको छ । औद्योगिक गुआनाजुआटो राज्य दुई प्रतिद्वन्द्वी समूहहरू सान्ता रोजा डे लिमा र जलिस्को न्यू जेनेरेसन कार्टेलहरू लागुऔषधको तस्करी र इन्धन चोरी गर्नका लागि परिचित छन् । त्यसले गर्दा सो स्थल विवादग्रस्त बनेको छ । (रासस/एएफपी
Advertisement





