बागलुङ । बागलुङको बरेङ बजारले सडको मुहार फेरेको छ । तीन दिन हिँडेर बागलुङको बरेङ गाउँपालिकाबाट कयौँ पटक बुटवल पुग्नुभएका बरेङ गाउँपालिका–२ का केशरबहादुर बर्मा अहिले गाउँमै बुटवलबाट जीप आउँदा दङ्ग पर्नुहुन्छ ।
बागलुङको दक्षिण क्षेत्र बरेङ बुटवल सिधा सम्पर्कमा प्रशासनिक काम बाहेक किनमेल र औषधि उपचारका लागि पाल्पा हुँदै बुटवलसम्म हुन्छ । विसं २०६३ सालतिर बरेङमा पहिलो पटक सवारी आएको बर्माको स्मरणमा छ । बर्माले तीन दिन हिँडेर पुग्ने बुटवल अहिले आधा दिनमै पुग्न सकिने बताउँदै सडक सञ्जालका कारण बरेङको जनजीवनले मुहारै फेरेको बताउनुहुन्छ ।
प्रशासनिक काम गर्न मात्रै बागलुङ बजार जान्छौँं, अन्य कामका लागि सदरमुकाम बागलुङ बजार पुग्ने समयमा बुटवल पुगिन्छ । बर्माले भन्नुभयो ‘यहाँका अधिकांशको बसाइँसराइसमेत उस्तै हुन्छ, अहिले दैनिक तीनवटा जीप बरेङ आउँछन् ।
शान्तिपुरसम्म बाटो पक्की छ, त्यहाँबाट बुटवल सम्म बससमेत चल्ने गरेका छन् । सडकका कारण दुर्गम मानिएको बरेङ गाउँपालिका विस्तारै सुगम बन्दै गएको छ ।
बर्माले सडकका कारण ७५ वर्षको उमेरमा भए पनि यहाँको विकास हेर्न पाइएको बताउनुभयो । सडक सञ्जालका कारण बरेङक्षेत्रमा बाक्ला घरसमेत निर्माण भइरहेका छन् । (रासस)