क्वालालमपुर । मलेसियाको संसद् विघटन भएको छ । त्यससँगैँ प्रधानमन्त्री इस्माइल साब्री याकोबले मध्यावधि निर्वाचनसमेतको घोषणा गर्नुभएको छ ।
उहाँले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुने छ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उहाँले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी दिनुभएको हो ।
सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित घटनाक्रम भएको र त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उहाँको दाबी छ ।
सम्बोधनको क्रममा उहाँले भन्नुभयो– ‘हामीले फेरि जनताको अभिमत लिने निर्णय गरेका छौँ । जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ । निर्वाचनबाट प्राप्त जनताको अभिमतानुसार गर्ने छौँ ।’
देशमा राजनीतिक स्थायित्व, जिम्मेवार तथा सुनिश्चित सरकारको आवश्यकता रहेकोमा समेत उहाँले जोड दिनुभएको छ । निर्वाचनकै मिति भने अहिले घोषणा भइसकेको छैन । सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ ।
निर्वाचनबाट प्रतिनिधि सभाका दुई सय २२ सदस्य निर्वाचित हुने छन् । यसअघिको निर्वाचनपछि सन् २०२० सम्म दुई व्र्षका लागि महाथिर मोहम्मद प्रधानन्त्री निर्वाचित हुनुभएको थियो । त्यसपछि मुह्यिद्दिन यासिनले प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएको थियो । उहाँको सरकार पनि ढलेपछि वर्तमान प्रधानमन्त्री सब्रीले २०२१ को अगस्त २१ मा सपथ ग्रहण गर्नुभएको थियो । (रासस/सिन्ह्वा)





