बेसीसहर । अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरू लमजुङतर्फ नै फर्किन थालेका छन् । मङ्गलबारदेखि निरन्तर वर्षा भएपछि मौसम खराबीका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटक बुधबारदेखि पुनः लमजुङतर्फ नै फर्किएका हुन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङले भन्नुभयो– ‘वर्षा हुनु अघिसम्म दैनिक ८० भन्दा बढी पर्यटक यस पदमार्गबाट मनाङ जिल्ला हुँदै गन्तव्य पार गर्ने गरेका थिए तर निरन्तर वर्षाका कारण पदमार्गसमेत बिग्रिन थालेको र मनाङको माथिल्लो भेगमा हिमपात हुन थालेपछि उनीहरू अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेसीसहर नै फर्किन थालेका छन् ।’
असोज २२ गते शनिबार बिहान मात्र चामे गाउँपालिकामा अलपत्र ८५ पर्यटक फर्किएको उहाँले जानकारी दिनुभयो । बिहीबार एक सय ५० र बुधबार ४० जना पर्यटक फर्किएका थिए ।
त्यस्तै, पदमार्गमा जानका लागि लमजुङमा आइपुगेका पर्यटकसमेत बेसीसहरमै रोकिएर बसेका छन् । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकीय सिजनकै बेला यतिबेला फेरि व्यवसाय सुनसान हुन थालेका पर्यटन व्यवसायीहरूको भनाइ छ ।
अहिले मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फुलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । पर्यटकहरू विशेष गरी थोराङपास, लार्केपास र कालापास गर्ने गर्दछन् भने, केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिकामा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचओटा जिल्ला जोडिएको छ । (रासस)