बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको असोज पहिलो साताबाट पुन: सञ्चालन हुने भएको छ ।
धनगढी–बैतडी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको थियो ।
साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो ।
यहाँ हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् ।
हवाई उडान नहुँदा आकस्मिकरुपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जाने नागरिक समस्यामा परेका हुन् । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न कम्तीमा आठ घण्टा लाग्ने गर्दछ ।
यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द भएको पुन: सञ्चालन हुने समिट एयर पाटनका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिनुभयो ।
चैतअघि नियमितरुपमा उडान हुने गरेकामा त्यसपछि यात्रु नपाउँदा र मौसम अनुकूल नहुँदा उडान हुन नसकेको हो ।
चैतपछि केही महिना समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भरिरहेको हुनाले पाटन नआएको भट्टको भनाइ छ । उहाँले भन्नुभयोे, “चैतदेखिको दुई/तीन महिना लुक्ला र जोमसोमतिर पर्यटक बढेकाले उतै भरेको थियो, त्यसपछि यता उडान भर्ने कुरा थियो, कहिले मौसमले साथ नदिने कहिले यात्रु नपाइने समस्या छ ।”