काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ ।
शुक्रबार सूचना प्रकाशित गरी आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको हो ।
आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ बमोजिम यही साउन २२ गते देखि २०७९ साल साउन ३१ गतेसम्म दल दर्ता गर्न सूचनामा भनिएको छ ।
दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने छ।
यसरी दल दर्ताको लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ।
आयोगले दल दर्ता प्रयोजनको लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला रहने र अन्य थप जानकारीको लागि आयोगको टोलिफोन नं ०१–५३२३१८२ र ४२२९६४३ मा सम्पर्क राख्न सकिने समेत व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
