काठमाडौं । व्यापार घाटामा नेपालले अहिलेसम्मको कीर्तिमानी तोडेको छ । व्यापार घाटा कूल वार्षिक बजेटभन्दा धेरै पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा १७ खर्ब २० अर्ब रुपैयाँ व्यापारघाटा भएको छ । नेपालको गत आर्थिक वर्षको बजेट १५ खर्ब ६४ अर्ब थियो । व्यापार घाटा बजेटभन्दा झण्डै २ खर्बले बढी हो ।
अघिल्लो वर्ष १३ खर्ब ९८ अर्व व्यापारघाटा रहेकोमा यो वर्ष २३ प्रतिशतले बढेको छ।
१ वर्षमा १९ खर्ब २० अर्ब रुपैयाँको आयात हुँदा २ खर्बको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष १५ खर्ब ३९ अर्ब रुपैयाँ आयात हुँदा १ खर्ब ४१ अर्ब रुपैयाँको रहेको थियो।
पेट्रोलियम पदार्थ खरिदमा मात्र ३ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । सोयाबिनको कच्चा तेल ४६ अर्ब, कच्चा पाल्म तेल ३३ अर्ब, सूर्यमुखी फूलको तेल साँढे १६ अर्ब रुपैयाँको आयात भएको छ ।
धान र चामल ४७ अर्ब ५७ करोड, गहुँ ५ अर्ब ६६ करोड, मकैं १९ अर्ब ६४ करोडको आयात भएको तथ्यांक छ ।