बनेपा । पत्रकार नवराज बजगाईले आफ्नो र श्रीमती ताराको जन्मदिन असहायलाई सहयोग गरी मनाउनुभएको छ । बजगाई दम्पत्तिले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का वृद्धवृद्धा र असहायलाई खाद्यान्न र लत्ता कपडा हस्तान्तरण गरी जन्म दिन मनाउनु भएको हो ।
पत्रकार महासंघ काभ्रे र प्रेस चौतारी काभ्रेका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका बजगाईले शनिबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी विगतमा जस्तै ‘सेवा घर’ का आश्रितलाई सहयोग गर्नुभएको हो ।
आफूलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका वृद्धवृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको उहाँले बताउनुभयो ।
उहाँले सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठलाई चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, फलफुल, जुस, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गर्नुभएको हो । सामग्री बुझ्दै सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठले यस्ता सहयोगी कै कारण सेवा घर असाहयको साहारा बन्न सकेको बताउनु भयो ।
सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरुको सेवाको लागि ५ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो । जहाँ सडक तथा सार्वजनिक स्थलमा कष्टकर जिवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले बताउनु भयो ।