काठमाडौं । सोमबार भएको प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले पाहुना टोली सिक्किम युनाईटेडलाई ० का विरुद्ध १८ गोल गरेका छ । ललितपुरको लगनखेलमा भएको खेलमा एपीएफले सिक्किम विरुद्ध पहिलो हाफमै १० गोल गरेको थियो भने दोस्रो हाफमा ८ गोल गरेको थियो ।जसमा साबित्रा भण्डारीले ९ तथा अनु लामाले ४, अनिता केसीले ३ र रेनुका नगरकोटीले २ गोलको योगदान गरे ।खेलको म्यान अफ द म्याच ९ गोल गर्ने सावित्रा भइन् ।
सोमबारै अर्को खेलमा विभागीय नेपाल पुलिस क्लव र प्रदेश २ बीच भद्रकालीस्थित नेपाल आर्मीको मैदानमा जारी छ ।तीन विभागीय, दुई विदेशी तथा तीन प्रदेशको फुटबल टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ ।

