काठमाडौं । विभिन्न नागरिक अगुवाहरुले सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध राजनीतिक नेतृत्वबाट सार्वजनिक टिकाटिप्पणी भइरहेको भन्दै चिन्ता जाहेर गरेका छन् ।
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्बन्धमा परेको रिटमा अदालतको फैसलाबारे राजनीतिक नेतृत्वबाट भइरहेको नकारात्मक टिप्पणीप्रति नागरिक अगुवाहरुले आपत्ति जनाएका हुन् ।
पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, सभामुख लगायत नागरिक समाजका अगुवाहरुले शुक्रबार जारी अपीलमा भनिएको छ, ‘बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्बन्धमा नेपाल सरकारका केही निर्णयहरु कानुन विपरीत ठह-याउँदै बदर गर्ने गरी सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले जेठ १२ गते गरेको फैसला बारे राजनीतिक तहबाट आइरहेको आलोचना र टिप्पणी प्रति हाम्रो गम्भीर आपत्ति छ।’
यसरी अपील जारी गर्नेहरुमा पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्वन्यायाधीश बलराम केसीका साथै, चरण प्रसाई, कनकमणि दीक्षित, तारानाथ दाहाल, गीता पाठक संग्रौला र राजुप्रसाद चापागाईं छन् ।
नागरिक अगुवाहरुले सर्वोच्चले गरेको आदेश विपरित संसदीय समितिले विमानस्थलको काम अघि बढाउन सरकारलाई निर्देशन दिएकोप्रति पनि नागरिक अगुवाहरुको आपत्ति छ ।