सोल (दक्षिण कोरिया) । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार भिडियो कन्फरेन्समार्फत् ब्रिक्स विदेशमन्त्रीको बैठकमा भाग लिएको दूतावासले प्रेसविज्ञप्तिमार्फत् जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत सम्बोधन गर्दै उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको हो । सो अवसरमा चिनियाँ राष्ट्रपतिले ब्रिक्स राष्ट्र र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको प्रयासको सान्दर्भिकताले वास्तविक बहुपक्षीयतालाई समर्थन गर्ने बताउनुभएको छ ।
बैठकमा अन्तर्राष्ट्रिय चासोका समसामयिक विषयमा महŒवपूर्ण विचार आदानप्रदान भएको थियो । मन्त्रीहरूले विश्वव्यापी मामिलामा सामूहिक सिद्धान्त सुदृढ गर्ने, क्षेत्रीय द्वन्द्व, नयाँ चुनौती र खतरासँग लड्नुका साथै बहुपक्षीय विषयमा पाँच राष्ट्रबिचको अन्तरक्रियाका विषयमा गहन छलफल गर्नुभएको थियो । बैठकमा वर्तमान अवस्था र पाँचपक्षीय सहयोगको सम्भावनाबारे विशेष ध्यान दिइएको प्रेसविज्ञप्तिमा जनाइएको छ ।
आफ्नो टिप्पणीमा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनको अवस्थाको विकास र विशेष सैन्य परिचालनको विस्तृत आधारभूत मूल्याङ्कन प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा अर्जेन्टिना, इजिप्ट, इन्डोनेसिया, कजाकस्तान, नाइजेरिया, साउदी अरेबिया, सेनेगलका विदेशमन्त्रीको सहभागितामा ब्रिक्स प्लस ढाँचामा छुट्टै सत्र पनि सञ्चालन भएको थियो ।
विज्ञप्तिमा भनिएको छ– ‘उनीहरूले संयुक्त राष्ट्र सङ्घ, विश्व व्यापार सङ्गठन र जी–२० भित्रको सहयोगमा जोड दिँदै राज्य र विश्वव्यापी शासन प्रणालीको विकासको सम्भावनाका बारेमा छलफल गरेका थिए ।
गत हप्ता, ब्रिक्स स्वास्थ्य मन्त्रीको बैठक पनि आयोजना भएको थियो । सो अवसरमा मन्त्रीहरूले ठुलो महामारीको विरुद्ध प्रारम्भिक चेतावनी प्रणाली सुरु गर्ने कुरामा सहमति जनाएका थिए ।
ब्रिक्स एक बहुपक्षीय मञ्च हो, जसमा विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, दक्षिण अफ्रिका र चीन सदस्य छन् । (रासस:सिन्ह्वा)