जेनेभा । संयुक्त राष्ट्र सङ्घले विश्वमा खाद्य असुरक्षाको अवस्था झन् बढ्दै गएकाले सबै गम्भीर हुनुपर्ने बताएको छ । साथै विश्वका देशमा पछिल्लो समयमा बढ्दै गएको खाद्य असुरक्षाको अवस्था कम गर्नका लागि विश्वका सबै राष्ट्रलाई मिलेर काम गर्न पनि संयुक्त राष्ट्र सङ्घले आह्वान गरेको छ ।
न्युयोर्कमा बुधबार आयोजना भएको एक बैठकमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले सो कुरामा जोड दिनुभएको हो ।
उहाँले पछिल्लो दुई वर्षमा विश्वमा खाद्यान्न अभाव भएका मानिसको सङ्ख्या दोब्बर भएको र यो अवस्था अझै बढ्दै जाने खतरा रहेको भन्दै त्यसका लागि विश्वका सबै देशले नै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।
संयुक्त राष्ट्र सङ्घका महासचिव गुटरेसले दिएको जानकारीअनुसार विश्वमा महामारी सुरु हुनुभन्दा अघि विश्वका १३५ मिलियन मात्र मानिसमा खाद्य अभाव भएकामा अहिले त्यो सङ्ख्या दुई वर्षपछि बढेर कम्तीमा पनि दुई करोड ७६ लाख पुगेको छ ।
खाद्य असुरक्षाको अवस्था गएका केही वर्षमा निकै बढ्दै गएको पनि देखिएको छ । सन् २०१६ पछि विश्वमा कम्तीमा पनि ५०० प्रतिशतले यो अवस्था बढेको पाइएको पनि समाचारमा जनाइएको छ । (रासस:सिन्ह्वा)