काठमाडौं । ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा दुई जनाको मृत्यु भएको छ । विस्फोटमा परी भारतको बिहारका ४५ वर्षीय बृज महतोको घटनास्थलमै र २५ वर्षीय राजकुमार महतोको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्लान्टमा अक्सिजन भर्दै गर्दा सिलिण्डर विस्फोट हुँदा अरु ६ जना घाइते भएका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेको छ । सबै जना उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
विस्फोटमा पर्सा घर भई अक्सिजन प्लान्टमा कार्यरत ४३ वर्षीय रमेश अधिकारी, ललितपुरको महालक्ष्मी नगरपालिका ८ की ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिकाका १९ वर्षीय सुदीप तिमल्सिना, महांकाल गाउँपालिकाका २२ वर्षीय ईश्वर बजगाई, ओखलढुंगाकी २० वर्षीया अन्जना पौडेल र चन्द्रागिरी नगरपालिकाका ४९ वर्षीय गंगाराज शर्मा घाइते भएका थिए । शर्माको बीएण्डबी र अरुको पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।
पाटन औधोगिक क्षेत्रभित्र रहेको प्लान्टमा भएको विस्फोटको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।