दाङ । दाङको बङगलाचुली गाउँपालिका वडा नम्बर ४ को फाटा, पुरुङ, पथन्चौर लगायतका गाउँ बाट दर्जनौं व्यक्तिहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।
विगतमा एमाले, काङ्ग्रेस, माओवादी र राप्रपामा रहँदै आएका स्थानीय राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् ।
राजमो वडा समितिले आयोजना गरेको कार्यक्रममा ठूलो संख्यामा स्थानीयले पार्टी प्रवेश गरेका राजमो दाङले जनाएको छ ।
नवप्रवेशीहरुलाई राजमो जिल्ला अध्यक्ष गणेश आचार्यले सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चामा प्रवेश गर्दै स्थानीय घनश्याम परियारले भन्नुभयो, ‘अहिलेसम्म काङ्ग्रेसलाई जिताइयो । एमालेलाई जिताइयो । माओवादीलाई पनि जिताइयो तर यिनिहरु सबै उस्तै रहेछ्न् । त्यसैले अब जनमोर्चा जस्तो इमान्दारीताको राजनीति गर्ने र राष्ट्रघात, भ्रष्टाचारको विरोध गर्ने पार्टीलाई जिताउनु पर्छ भन्ने लागेर जनमोर्चामा प्रवेश गरेको हुँ ।’
यसैगरी स्थानीय थर्क बहादुर पुनले भन्नुभयो, ‘राष्ट्रिय जनमोर्चा पुरानो पार्टी हो । हामीले मसाल भनेर पनि बुझ्छौँ । यति पुरानो पार्टीले पनि अहिले सम्म भ्रष्टाचार गरेको, राष्ट्रघात गरेको हामिले सुनेका छैनौँ । बरु त्यसको विरोध गरेको सुनेका छौँ । त्यसैले अब हामी गरिब र इमान्दार जनताको पार्टी जनमोर्चा भएकोले हामी जनमोर्चामा प्रवेश गरेका हौँ ।’
कार्यक्रममा राजमो जिल्ला सदस्य तिलक घर्ती, पालिका अध्यक्ष सुमन घर्ती, उपाध्यक्ष भिम बहादुर अधिकारी, अखिल नेपाल युवक संघ घोराही नगर उपाध्यक्ष संजय वली लयायतको उपस्थित रहेको थियो ।
