धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीको अध्यक्षमा जगत प्रसाद जोशी चयन हुनुभएको छ । मंगलबार बसेको राजमो जिल्ला समितिको बैठकले जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।
युवा नेता जोशी यसअघि राजमो जिल्ला सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएसँगै जय बहादुर विकलाई कार्यवाहक सचिवको जिम्मेवारी तोकिएको छ ।
यसअघि सोमबार बसेको सचिवालय बैठकले तत्कालिन अध्यक्ष दयाराम सञ्ज्याललाई पार्टी विरोधी गतिविधिमा सामेल भएको भन्दै कारबाही गरेको थियो ।
कार्यवाहक अध्यक्ष चयन भएपछि युगदर्शनसँग कुरा गर्दै जोशीले आगामी स्थानीय निर्वाचन र जनतासँग जोडिएका विषयमा जनसंघर्ष सँगसँगै अगाडि बढाउने बताउनुभयो ।
‘मुख्यतः अहिले हामी स्थानीय निर्वाचनकै तयारीमा छौँ । हिजो मात्रै हामीले गोदावरी नगरपालिका वडा नं १२ मा सम्पर्क कार्यालय उद्घाटन गरेर त्यस क्षेत्रमा काम अगाडि बढाएका छौँ’ जोशीले भन्नुभयो ।
उहाँले निर्वाचनमा गठबन्धन दलसँग मिलेर जानेबारे पनि छलफल भइरहेको जानकारी दिनुभयो । यदी गठबन्धन दलहरुले सम्मानजनक हैसियत नदिएमा भने पार्टीले एक्लै चुनाव लड्नेगरी तयारी गरिरहेको उहाँले बताउनुभयो ।
‘गठबन्धन दलसँग विभिन्न चरणमा छलफल भएको छ र, आज (बुधबार) पनि बैठक छ’ कावा अध्यक्ष जोशीले भन्नुभयो, ‘अन्य दलले गर्ने व्यवहार र सम्मानजनक हैसियतका अधारमा हामीले तालमेल गर्ने हो, त्यसो नभए एक्लै चुनाव लड्नेगरी तयारी गरिरहेका छौँ ।’