विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ ।
प्रेस सङ्गठन नेपाल प्रदेश समितिद्वारा २०७८ फागुन २९ गते यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबिच प्रतिस्पर्धा हुन्छ ।’
‘आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने र उल्ट्याउन खोज्नेमाझ प्रतिस्पर्धा हुन्छ’ उहाँले भन्नुभयो– ‘गठबन्धनका पार्टीबिच तालमेल होस् भन्ने हाम्रो जोड हुन्छ ।’
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले नेपाली काङ्ग्रेस नेतृत्वको प्रधानमन्त्रीले गठबन्धन पार्टीबिच मिलेर चुनावमा जाने भन्नुभएकाले यसलाई गठबन्धनले सकारात्मक रूपमा लिएको बताउनुभयो ।
उहाँले एमाले नेतृत्वसँग संसद् अवरुद्ध नगर्ने विषयमा गठबन्धन दलका शीर्ष नेतृत्वले छलफल गरेको तर सहमति नभएकाले विकल्पका रूपमा संसद् अवरुद्धबिच विधेयक पास गरी तोकिएको समयमा नै संसद्को निर्वाचन सम्पन्न गर्ने विषयमा गठबन्धन दलबिच सहमति भएको जानकारी दिनुभयो ।
उहाँले तत्काल एमालेसँग निर्वाचनमा सहमति कायम राख्ने कुनै सम्भावना नरहेको बताउँदै काङ्ग्रेससँग कतिपय स्थानमा गठबन्धन गरी जान सकिने बताउनुभयो ।