काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन लागिएको चर्चा यतिबेला राजनीतिक वृतमा चलेको छ । प्रतिपक्षी नेकपा (एमाले)को तारो बन्दै आएका सभामुख सापकोटासँग पछिल्लो समय एमसीसी रोक्न सक्ने सम्भावनाका कारण सत्तारुढ नेपाली कांग्रेस पनि सशंकित बनेको छ।
सापकोटाविरुद्ध एमालेले महाभियोग प्रस्ताव दर्ताको तयारी गरेको स्रोतले बताएको छ । कांग्रेससँग कुरा मिलेमा एमालेले केही दिनमै महाभियोग प्रस्ताव दर्ता गर्ने स्रोतको दाबी छ ।
एमालेका नेताहरुले यस विषयमा कांग्रेसका नेताहरुसँग छलफल गरिरहेको बुझिएको छ । माधव नेपालसहित एमालेले कारबाही गरेका १४ जना सांसदलाई नहटाएको भन्दै एमाले सभामुख सापकोटासँग बदला तिल खोजिरहेको छ ।
सोही कारण सभामुखको राजीनामा माग्दै एमालेले लामो समयदेखि संसद अवरोध गर्दै आइरहेको छ । यही मौकामा कांग्रेससँग मिलेर सभामुखलाई पदच्युत गर्ने योजना एमालेले बनाएको हो ।
कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच एमसीसी अघि बढाउने भद्र सहमति भइसकेको बताइन्छ । एमसीसी अघि बढाउन पाँच दलीय गठबन्धन तोडेर एमाले र कांग्रेसले प्रयास गर्ने र यहीबीचमा सभामुख सापकोटालाई पनि हटाउने चर्चा चलेको छ ।
एमसीसी पारित गर्ने विषयमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहमतिमा नआए देउवा र ओली मिल्ने सम्भावना बढ्दै गएको छ । त्यसका लागि भद्र सहमतिमा सभामुखको बर्हिगमनका अलावा सत्तामा देउवाको बलियो प्रभाव समेत रहने बुझिएको छ ।
संविधानको धारा २९९ को उपधारा ६ बमोजिम सभामुखले लिखित राजीनामा दिएमा, व्यवस्थापिका संसदमा निजको सदस्यता नरहेमा, पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ सदस्यको बहुमतबाट पारित भएमा, मृत्यु भएमा पद रिक्त हुनेछ ।
सभामुखले पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्था छ । उपसभामुख नभएकाले अन्य कुनै सदस्यले गर्ने व्यवस्था छ । त्यस्तो प्रस्तावको छलफलमा सभामुखले भाग लिन र मत दिन पाउने व्यवस्था छ।
सभामुखमाथि पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव पेश भएमा त्यस उपर छलफल भई निर्णय लिँदा दुई तिहाईले पारित भए पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।