जनकपुर । प्रदेश २ को नाम ‘मधेश’ प्रदेश दुई तिहाइ बहुमतले पारित भएको छ । सोमबार प्रदेश सभामा मतदान हुँदा दुई तिहाइ बढी सांसदले सो नामको पक्षमा समर्थन जनाए ।
प्रदेश २ सभामा हाल कायम १ सय ४ जना सांसद मध्ये ९९ मत खसेको थियो, जसमा मधेश प्रदेशको पक्षमा ८० मत खसेको छ।
जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो।
नामको लागि चारवटा प्रस्ताव भएका थिए । नेकपा (एकीकृत समाजवादी) ले जानकी प्रदेश, कांग्रेसले मिथिला भोजपुरा प्रदेश र कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नाम प्रस्ताव गरेका थिए ।
झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको हो । आजकै बैठकमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम पनि दुई तिहाइ मतले पारित भएको छ ।
योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतः निस्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरे ।