नुरसुल्तान । रुसको नेतृत्वमा सेनाको एक टुकडीले दुई दिनभित्र कजाकिस्तान छोड्ने दाबी गरिएको छ । कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले मङ्गलबार यस्तो दाबी गर्नुभएको हो ।
‘सिएसटिओ शान्ति सेनाको मुख्य मिसन सफलतापूर्वक सम्पन्न भएको छ’ तोकायेभले सामूहिक सुरक्षा सन्धि सङ्गठनका सेनालाई उल्लेख गर्दै उहाँले भन्नुभएको छ– ‘दुई दिनमा सिएसटिओ संयुक्त शान्ति सेनाको दस्ताको चरणबद्ध फिर्ता सुरु हुने छ ।’
‘दल फिर्ताको प्रक्रिया १० दिनभन्दा बढी लाग्दैन’ उहाँले सरकार र संसद्लाई भिडियो कन्फरेन्स कल लाइभ प्रसारणमा सम्बोधन गर्दै भन्नुभएको छ ।
दुई हजारभन्दा बढी सेना सिएसटिओ मिसनको क्रममा गत हप्ता सङ्कटको चरम सीमामा पठाइएको थियो । सरकारी विपक्षी र सुरक्षाबलबिच सशस्त्र झड्प र सबैभन्दा ठुलो सहर अल्माटीको भाग लगभग अपरिचित रूपमा लुटपाटको चपेटामा परेपछि सो कदम उठाइएको हो ।
कजाकस्तानले गत हप्ता पेट्रोलको मूल्यवृद्धिको विरुद्धमा भएको प्रदर्शनको कारण अशान्ति भएको थियो । विरोध प्रदर्शनको क्रममा दर्जनौँको मृत्यु भएको थियो । तोकायेभका गुरु, संस्थापक अध्यक्ष नुरसुल्तान नाजरबायेभ, सङ्कट सुरु भएदेखि नै सार्वजनिक रूपमा देखा परेका छैनन् । नाजरबायेभका सहयोगीले ८१ वर्षीय बलिया व्यक्ति राजधानी नुरसुल्तानमा रहेको र तोकायेभसँग वार्तामा रहेको दाबी गरेका छन् । (रासस/एएफपी)