काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत विभिन्न ६ विद्यार्थी संगठनले आयाल निगमलाई दिन भन्दै एक रुपैयाँ संकलन गर्दैछन् । मंगलबार काठमाडौंको शान्ति वाटिकामा भेला भएर ‘एक व्यक्ति एक रुपैयाँ’ संकलन गर्न लागिएको अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो ।
संकलित रकम नेपाल आयल निगमलाई बुझाइने उपाध्यक्ष अधिकारीले बताउनुभयो । निगमले भ्रष्टाचार गरी अत्यधिक रुपमा मूल्यवृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले एक रुपैयाँ संकलन गर्न लागेका हुन् ।
नेपाल आयल निगमले गएको कात्तिक २४ गतेदेखि पेट्रोल, डिजल, मट्टितेल र खाना पकाउने ग्यासमा चर्को मूल्यवृद्धि गरेपछि ६ विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यसक्रममा विद्यार्थी संगठनहरुले आयल निगम घेराउ गर्नुका साथै खाली सिलिण्डरको प्रदर्शनलगायतका विरोध कार्यक्रम गरेका छन् । उनीहरुले विभिन्न दलका नेताहरुलाई भेटेर ज्ञापन पत्रसमेत बुझाइसकेका छन्।

निगमलाई एक रुपैयाँ संकलन गरेर दिएसँगै पहिलो चरणको कार्यक्रम सकिने अखिल (छैठौं) का उपाध्यक्ष अधिकारीले बताउनुभयो । यसपछि संयुक्त बैठक बसेर थप कडा कार्यक्रम घोषणा गरिने अधिकारीको भनाई छ ।
मूल्यवृद्धिविरुद्ध अखिल (छैठौं), अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, वैद्य निकट अखिल क्रान्तिकारी र विप्लव निकट अखिल क्रान्तिकारीले संयुक्त आन्दोलन गरिरहेका छन् ।
यो पनि :
मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठन : दलका नेतालाई ज्ञापनपत्र बुझाउने, आयल निगमलाई १ रुपैयाँ दिने
शीर्ष नेतासँग अध्यक्ष कुँवरको आग्रह : पेट्रोलियम पदार्थको कर घटाइदिनू, मूल्य स्वतः घट्छ