काठमाडौं । अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर घटाउन विभिन्न दलका शीर्ष नेताहरुसँग आग्रह गर्नुभएको छ । दलका नेतालाई ज्ञापन पत्र बुझाउने क्रममा अध्यक्ष कुँवरले अत्यधिक करका कारण पेट्रोलियम पदार्थको मूल्य असाधारण ढंगले वृद्धि भएको भन्दै कर घटाउन आग्रह गर्नुभएको हो ।
विभिन्न ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै दलका शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाएका छन् । त्यस क्रममा विद्यार्थी संगठनहरुले नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, पूर्व प्रधानमन्त्री तथा नेकपा (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महरालाई भेटी ज्ञापन पत्र बुझाएका हुन् ।

यस्तै, नेपाली कांग्रेसका नेता तथा मन्त्रीहरुलाई समेत ज्ञापन पत्र बुझाएर मूल्य घटाउन आग्रह गरिने विद्यार्थी संगठनले बताएका छन् ।
पूर्वप्रधानमन्त्री नेपाललाई ज्ञापन बुझाउँदै अखिल (छैठौं) का अध्यक्ष कुँवरले मूल्यवृद्धिको जिम्मेवारी राजनीतिक दलले लिनुपर्ने बताउनुभयो ।
‘मूल्यवृद्धिको मुख्य कारण पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर हो । ८३ रुपैयाँमा किनेको पेट्रोलमा ५७ रुपैयाँभन्दा बढी कर लगाइएको छ । यसले जनताको ढाड सेकेको छ’ ज्ञापन पत्र बुझाउँदै कुँवरले भन्नुभयो, ‘मूल्यवृद्धिको कारण अन्तर्राष्ट्रिय बजार देखाइए पनि त्यो निर्णायक होइन, निर्णायक कारण अँनतरिक हो । त्यसकारण यसको जिम्मेवारी दलहरुले लिएर घटाउन तर्फ पहल गर्नुपर्छ ।’
जवाफमा नेता नेपालले मूल्यवृद्धि घटाउन पहल गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने बताउनुभएको थियो ।

यस्तै, माओवादी नेता महरालाई ज्ञापन बुझाउँदै अध्यक्ष कुँवरले माओवादीले जनजीवीकाका लागि भन्दै गरेको सशस्त्र संघर्ष स्मरण गराउँदै
‘तपाइँहरु सत्तामा आउँदासमेत जनताको अवस्था झन् खराब भएकोतर्फ किन ध्यान नदिनुभएको’ भनी प्रश्न गर्नुभयो । उहाँले कर्मचारीलाई दोष दिएर र बाह्य कारण देखाएर नेताहरु जनतालाई परेको अप्ठ्यारोबाट भाग्न नमिल्ने बताउनुभयो ।
नेता महराले जवाफमा आफू सञ्चारमन्त्री हुँदा पेट्रोलियम पदार्थमा अनुदान दिएर भए पनि मूल्य नियन्त्रण गर्न पहल गरेको बताउँदै फेरि पनि मूल्यवृद्धि घटाउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।
विद्यार्थी नेताहरुसँगको भेटमा सबै नेताहरुले मूल्यवृद्धि घटाउन पहल गर्ने बताएका छन् । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले उच्चस्तरीय राजनीतिक समन्वय समितिमा यसबारे आफूले गम्भीरतापूर्वक कुरा राख्ने बताउनुभएको थियो ।
अखिल (छैठौं) सहित तीनवटा अखिल क्रान्तिकारी, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा शीर्ष नेताहरुलाई भेटी पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गरिरहेका छन् । मूल्यवृद्धि फिर्ता नभए सडक संघर्ष चर्काउने विद्यार्थी संगठनहरुको चेतावनी छ।
यो पनि :
मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठन : दलका नेतालाई ज्ञापनपत्र बुझाउने, आयल निगमलाई १ रुपैयाँ दिने
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध छ विद्यार्थी संगठनले बुझायो राष्ट्रिय जनमोर्चालाई ज्ञापन