काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले पाँचदलीय गठबन्धन कायमै राख्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
पुनस्र्थापित प्रतिनिधि सभाको आठौँ अधिवेशनमा नेपाली काङ्ग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति २०७८ साउन ३ गते विश्वासको मत व्यक्त गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
सम्बोधनको क्रममा सांसद पौडेलले प्रतिगमन अझै पूर्ण रूपमा पराजित भइनसकेको बताउनुभयो ।
‘प्रतिगमन अझै पनि पूर्ण रूपमा समाप्त भएको छैन’ उहाँले भन्नुभयो– ‘अझै पनि प्रतिगमनकारी शक्तिहरू चर खोजेर बसिरहेका छन् । मौका पाउनासाथ गणतन्त्रमाथि हमला हुन सक्छ ।’
उहाँले निस्कर्षस्वरूप भन्नुभयो– ‘प्रतिगमनको खतरालाई सामना गर्न पाँचदलीय गठबन्धन कायमै राखिनुपर्दछ ।
मन्तव्यको क्रममा सांसद पौडेलले राजमोले विश्वासको मतलाई समर्थन गर्ने बताउनुभयो ।
‘राष्ट्रिय जनमोर्चा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत प्रदान गर्दछ’ सांसद पौडेलले भन्नुभयो– ‘तर राजमो प्रतिपक्षमा बसेर सरकारका कामको गुणदोषको आधारम समर्थन वा विरोध गर्ने छ ।’
उहाँले प्रधानमन्त्री देउवालाई विगतका गल्ती नदोहो¥याउँदै राम्रो काम गर्न शुभकामना पनि दिनुभयो ।