सुरेझ झा/पुरुषोत्तम सुवेदी, हेटौँडा ।
बागमती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रूपमा ठुलो नोक्सानी बेहोर्नुपरेको अवस्था छ ।
दुई आवदेखि निरन्तर कोरोनाको असहज स्थितिका कारण योजनानुसार सिमेन्ट उत्पादन तथा बिक्री हुन नसक्दा घाटा बेहोर्नुपरेको हो । अझ सिमेन्ट बिक्रीको मुख्य याम चैतदेखि असारसम्ममा सिमेन्ट उत्पादन तथा बिक्रीमा कमी आउँदा उद्योगले ठुलो आर्थिक नोक्सानी भोग्नुपरेको छ ।
गत आव २०७६/७७ मा करिब रु. २५ करोड बराबरको आर्थिक घाटा भएको उद्योगमा चालु आव २०७७/७८ मा समेत करिब रु. २५ करोड बराबरको आर्थिक कारोबार नोक्सानी हुने प्रारम्भिक अनुमान गरिएको उद्योगले जनाएको छ ।
कोरोनाको असहज परिस्थितिका कारण उद्योगमा हुने उत्पादन लागतमा वृद्धि, उद्योग सञ्चालन खर्च अन्य समयको तुलनामा बढी मूल्य पर्ने, साथै योजनानुसार सिमेन्ट उत्पादन र बिक्री नभएकाले उद्योगलाई कारोनाको अहसज स्थितिका कारण आर्थिक रूपमा नोक्सानी पुगेको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु शाहले जानकारी दिनुभयो ।
सरकारको स्वामित्वमा रहेको यो उद्योग केही सीमित आवबाहेक अन्य धैरैजसो आवमा विविध कारणले आर्थिक रूपमा ठुलो नोक्सानीसहित सञ्चालन हँुदै आएको छ । पुराना मेसिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा नोक्सानी हँुदै आएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताउनुभयो ।
उद्योगको पछिल्लो अवस्था हेर्दा वार्षिक करिब रु. दुई अर्ब बराबरको वार्षिक आम्दानी देखिन्छ भने करिब दुई अर्बभन्दा बढी वार्षिक खर्च देखिन्छ । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चापदार्थ व्यवस्थापन तथा मर्मतसम्भार क्षेत्रमा देखिन्छ ।
उद्योगले स्थापना गरेको उत्पादन प्रविधि निकै पुरानो भए पनि जर्मन मोडलको हो । सिमेन्ट उत्पादनका दृष्टिले यो प्रविधिलाई विश्वमै उत्कृष्ट मानिन्छ । तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चापदार्थलाई मात्र प्रयोगशालाले स्वीकार गर्दछ । यद्यपि निजी क्षेत्रको जस्तो अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले गुणस्तरमा उद्योगको मुख्य प्राथमिकता रहेको उद्योगले जनाएको छ ।
चालु आव २०७७/७८ मा ३१ लाख बोरा सिमेन्ट र एक लाख ५० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य रहेको उद्योगको बिक्री महाशाखाले जनाएको छ । मुख्य याममा कोरोनाको असहज परिस्थितिका कारण चैत–असारमै लक्ष्यअनुसार सिमेन्ट बिक्री नहुँदा आर्थिक वर्षको अन्त्यसम्म लक्ष्य हासिल हुन नसकेको बिक्री महाशाखाले जनाएको छ ।
उद्योग प्रशासनका अनुसार हेटौँडा सिमेन्टको माग मुलुकका मुख्य सहरमा अत्यधिक रूपमा बढी भएको पाइन्छ । काठमाडौँमा हेटौँडा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका घरमा २०७२ सालको विनाशकारी भूकम्पबाट कम क्षति भएको पाइएपछि झन् माग बढेको उद्योगको दाबी छ ।
एसियाली विकास बैङ्कको ऋण सहयोगमा २०३३ सालमा स्थापना भएको यस उद्योगमा तत्कालीन अर्थ मन्त्रालय, जलस्रोत मन्त्रालय, उद्योग मन्त्रालय, खानी विभागलगायत विभिन्न सरकारी निकायको समेत सेयर छ । यस उद्योगलाई नाफामूलक बनाउने अन्य निजी क्षेत्रबाट स्थापना गरिएका सिमेन्ट उद्योग सरह नयाँ प्रविधि जडान गरी अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने गरी विकास गर्न आवश्यक रहेको उद्योगको तर्क छ ।
हेटौँडा सिमेन्ट उद्योगअन्तर्गत करिब १०१ बिघा क्षेत्रफलमा क्षेत्रफल रहेको छ भने करिब २०० बिघा क्षेत्रफल विभिन्न स्थानमा उद्योगका लागि आवश्यक कच्चापदार्थ खानी (चुनढुङ्गा) रहेको क्षेत्र छ । उद्योगको कच्चा पदार्थका लागि मकवानपुरको ओखरे, भैसे, मजुवा र धादिङको जोगिमारामा चुनढुङ्गा खानी छ ।
२०३३ मा स्थापित उद्योगले २०४८ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगमा हाल २८५ स्थायी र करिब १०० ज्यालादारी कर्मचारी तथा मजदुर कार्यरत छन् ।





