काठमाडौं । विभाजनको संघारमा पुगेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच आज वार्ता हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले नेपाल पक्षलाई वार्ता गर्न बोलाउनुभएको हो ।
सर्वोच्च अदालतबाट पुनर्स्थापित एमालेमा अध्यक्ष ओलीले एकलौटी ढंगले निर्णय गर्न थालेपछि नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको छ । आइतबार मात्रै वष्रिठ नेता माधव नेपाल, झलनाथ खनालसहित ११ नेताहरुले ओलीले गरेको निर्णय नमान्ने भन्दै विज्ञप्ति नै सार्वजनिक गरिसकेका छन् ।
यो हेर्नुहोस्ः ओलीविरुद्ध विद्रोह गर्न नेपाल–खनाल समूहका ११ केन्द्रीय सदस्यको अपिल
एमालेमा दुई पक्ष लगभग विभाजन हुन लागिसकेको अवस्थामा ओलीले माधव नेपाल–झलनाथ खनाल पक्षलाई वार्ता गर्न बोलाउनुभएको हो । नेपालनिकट एक नेताकाअनुसार दुई पक्षबीच अहिले बिहान ११ बजे धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा वार्ता हुँदैछ ।
वार्तामा नेपाल पक्षबाट माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, भीम रावल तथा घनश्याम भुसाल उपस्थित हुनेछन् भने ओली पक्षबाट उहाँसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई पाखा लगाएर नै पुनस्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो यो पार्टी विभाजित हुने अवस्थामा पुगेको छ ।
गत शुक्रबार माधव नेपाल पक्षलाई नबोलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको ओली पक्षको भेलाले पूर्वमाओवादीबाट एमालेमा समाहित भएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरि माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी समेत खोसेपछि विवाद चर्किएको हो ।
नेपाल पक्षले शुक्रबार गरिएको निर्णय फिर्ता लिएर वाम गठबन्धनको सरकारलाई निरन्तरता दिनुपर्ने र पार्टीका सबै बैठक पार्टी कार्यालयमा हुनु पर्ने शर्त राखेको छ । ओलीले बालुवाटारमा त्यस्तो निर्णय गरेलगत्तै शुक्रबार नै माधव नेपाल पक्षका स्थायी समिति सदस्यहरूको भेलाले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। यो निर्णय अनुसार चैत ४ र ५ गते काठमाडौंमा माधव नेपाल पक्षको भेला हुँदैछ ।