काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रहरीले आफ्नो संगठनमाथि दमन गर्न नक्कली भिडन्तको प्रचार गरेको जनाएको छ । आइतबार संखुवासभामा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली चलेको समाचार आएपछि विप्लव समूहले त्यसको खण्डन गरेको छ ।
नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरी आफ्ना एक नेताको बहिनी भएकै आधारमा प्रहरीले घरमै गएर ढाड भाँचिने गरी कुटपिट गरेको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ ।आइतबार आफ्नो पार्टीका संखुवासभा सेक्रेटरी युवराज राईको घरमै गएर प्रहरीले कुटपिट गरी उनकी बहिनी चन्द्रकला राईको ढाड भाँचेको प्रकाण्डको दाबी छ ।
संखुवासभाको चैनपुर–४ मैदानेमा भएको यस घटनालाई प्रहरीले दोहोरो भिडन्त भनेर समाचार फैलाएको आरोप विप्लव पक्षको छ । साथै सुरक्षा निकायविरुद्ध आक्रमण गर्ने नीति आफूहरूको नरहे पनि राज्यले परिस्थितीलाई उक्साउने, उत्तेजित बनाउने काम जारी राखे शसक्त प्रतिरोध गर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
यो पनिः विप्लव समूह र प्रहरीबीच गोली हानाहान
