काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघसहित ६ देशका राजदूतले नेपालमा महिला हिंसा बढेको भन्दै चासो व्यक्त गरेका छन् । तत्कालिन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै एक महिलामाथि बलात्कार गरेको आरोप लागिरहेका बेला महराको नाम नलिएरै ति देशहरुले पिडकले उन्मुक्ति पाएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
नेपालस्थित अस्ट्रेलिया, फिनल्यान्ड, नर्वे, स्वीट्जरल्यान्ड, संयुक्त अधिराज्य र संयुक्त राष्ट्रसंघले संयुक्त विज्ञप्ति जारी गरी हिंसा पीडितलाई न्याय दिन र पिडकलाई कारबाही गर्न आग्रह गरेका हुन् ।
विज्ञप्तिमा पीडितलाइ न्यायमा पहुँच दिने, पीडितको पक्षमा उभिने र लिंगको आधारमा हुने हिसामा शुन्य सहनशीलता अपनाउने जिम्मेवारी सरकारको भएको अन्तर्राष्ट्रिय कानुनको सुनिश्चित कुरा नेपाल सरकारलाई स्मरण गराईएको छ ।
उनीहरुले कंचनपुरकी किशोरी निर्मला पन्त र माया बिकको घटनाहरुले पीडित तथा उनीहरुको परिवारले न्यायपाउनका लागि भोग्नु परेको चुनौतिलाई उजागर गरेको बताएका छन् ।
नेपाल सरकारले अन्तर्राष्ट्रिय मापदण्ड तथा महिलाविरुद्ध हुने सबै प्रकारको हिसाविरुद्ध हिंसालाई अन्त्य गर्ने अभिसन्धि तथा नागरिक तथा राजनीतिक अधिकार अनुबन्ध अनुसार सबै प्रकारको आरोपहरुको चाँडो, पूर्ण तथा निष्पक्ष अनुसान्धान गर्नुपर्ने जिम्मेवारी रहेको जनाएका छन् । उनीहरुले महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्ने समितिको ३५ नम्बर सिफारिस कार्यान्वयन गराउन समेत आग्रह पनि गरेका छन् ।