• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, साउन २९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल

तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

हीरा तरामुको निधनप्रति मसालले दियो श्रद्धाञ्जली

प्रदेशसभा सांसदलाई पाँच महिनामा एकपटक बोलाइन्छ : सांसद थापा (भिडियो अन्तर्वार्ता)

प्रहरी महानिरीक्षक कार्की भन्छन् : पाषाणयुगीन मानसिकता बोकेकाहरूबाट हामी शासित हुनुपरिरहेको छ

जाजरकोटमा बाढीले घर र पुल बगायो

बालेन्द्र सरकार सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी : सिंह (भिडियोसहित)

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ८. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

  • ९. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • १०. नयाँ पार्टीकी सांसद, पुरानै सामन्ती शैली !

राजनैतिक व्यक्तिको उद्देश्य


  •   सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
  • दुर्गानाथ खरेल ।।

    Advertisement

    सर्वसाधारण जनता राजनीतिमा लाग्दैनन् । अलि बढी सचेत मान्छे मात्र राजनीतिमा लागेर काम गर्न सक्दछन् । सचेत मान्छेले निश्चित उद्देश्यसहित काम गर्छ्रन् । उनीहरूको उद्देश्य उनीहरूको व्यवहारको मूल्याङ्कन गर्दा थाहा हुन्छ ।

    सर्वसाधारण जनता मुख्यतः दुई वटा कारणले राजनीति गर्न सक्दैनन् : एउटा कारण– उनीहरूले शोषण गर्न होइन, शोषण सहन सक्ने क्षमता बढाउँछन्; दोस्रो कारण– खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारजस्ता व्यक्तिगत समस्याबाट उम्कन सक्दैनन् । यी सबैका समस्या भए पनि सर्वसाधारण जनता ती समस्याको समाधानभन्दा बाँकी विषयमा सोच्न सक्दैनन् ।

    राजनीति गर्ने व्यक्तिहरूले सर्वसाधारण जनताभन्दा सचेत भई काम गर्न खोज्दछन् । त्यसकारण राजनीतिक नेता तीन किसिमले सर्वसाधारण जनताको नेतृत्व गरिरहेका हुन्छन् ।

    पहिलो पुँजीवादी नेतृत्व हो । पुँजीपति वर्गले गर्ने नेतृत्व पुँजीवादी नेतृत्व हो । उनीहरूसँग धेरै पुँजी हुन्छ । आफ्नो पुँजी लगानी गरेर नाफा कमाउन जनतालाई उपयोग गरिरहेका हुन्छन् । उनीहरू सहुलियत दरमा ऋण दिन सक्छन् । उद्योगमा धेरै जनालाई रोजगारी दिन सक्छन् । आफ्ना एजेन्टहरू बनाएर सस्तोमा सामान दिएर बढी नाफा कमाउन सक्ने गरी सामान विक्री गर्न सक्छन् । जे जसरी भए पनि आफ्नो नाफा बढाउने र जनतालाई शोषण गर्ने काम गर्दछन् ।

    उनीहरूको व्यक्तिगत स्वामित्वमा ठुला उद्योगधन्दा र जग्गाजमिन दर्ता भएका हुन्छन् । धेरै जना मजदुरलाई काम गराउन सक्छन् । धेरै जनालाई शोषण गर्ने हुँदा थोरै थोरै शोषण गरे पनि नाफाको रकम धेरै जम्मा हुन्छ । त्यही रकमबाट झन् ठुला उद्योग स्थापना गर्न सक्छन् र धेरै नाफा जम्मा हुँदै जान्छ । उनीहरूले शोषणको मात्रा बढाउन ठुला ठुला यन्त्र, उपकरण र धेरै प्राविधिकलाई रोजगारयुक्त बनाउन सक्छन् । धेरै पुँजीका कारण धेरै नाफा जम्मा गर्दै गएर आफू र आफ्ना परिवारका मान्छेलाई उच्च सुविधासहित जीवन बिताउन सक्ने बनाउने मात्र होइन, मठमन्दिर र धर्मशाला आदि निर्माण गरेर जनतालाई आफूप्रति आकर्षण गर्ने र आफ्नो “स्वर्गतुल्य” अवस्थाको जीवन आकर्षक बनाउँदै ‘भाग्य भए मात्र त्यस्तो हुन सक्ने’ भान पारेर जनतालाई अघिल्लो जुनीको फल स्वीकार गराएर, सर्वसाधारण जनताले अब आउने अर्को जुनी नबिगार्न सुझाव दिएर शोषण सहन र भाग्यमा भर पर्ने आफ्ना क्रियाकलाप धार्मिक प्रकृतिका बनाउन लगाएर राजनीति गर्दछन् ।

    जनता नेतृत्वको मातहतमा रहने र नेतृत्वको निर्देशनअनुसार काम गर्ने हुनाले दोस्रो दर्जाका नेतृत्व निम्न पुँजीवादी नेतृत्व हो । यिनीहरू पुँजीपति वर्ग र मजदुर सर्वहारा वर्गका बिचका नेतृत्व हुन् । यिनीहरूले पुँजीपति वर्गको विरुद्ध काम गर्दछन् । आफूलाई समाजवादी व्यवस्था स्थापना गर्नका लागि राजनीति गर्ने कम्युनिस्ट पार्टीको सदस्य र नेता घोषणा गर्दछन् । जनता निम्न पुँजीवादी कम्युनिस्ट पार्टीका नेताको वरिपरि गोलबन्द हुन्छन् । तर यिनीहरूले पुँजीपति वर्गको सेवा गरिरहेका हुन्छन् । आफूले उच्च सुविधा उपभोग गर्ने र नेता हुने चाहना गरिरहन्छन् ।

    आफ्नो निम्न पुँजीवादी आर्थिक अवस्थाले उनीहरूलाई पुँजीपतिको जस्तो धेरै नाफा पनि हुन्न । सर्वहारा मजदुरजस्तो निडर र निर्भिक पनि हुन सक्दैनन्; किनभने, आफूसँग व्यक्तिगत स्वामित्वमा थोरै भए पनि पुँजी हुन्छ । उता, उनीहरू आफूलाई जनताको नेता घोषणा गर्दछन् । जनताको पिछडिएको चेतनाबाट भरपूर फाइदा उठाउन चाहन्छन् । सर्वसाधारण जनताले धर्म मान्ने हुनाले निम्न पुँजीपतिहरूले धर्मको विरोध गर्न सक्दैनन् ।

    धर्मको र धर्ममा आधारित परम्पराको विरोधी नभइकन भौतिकवादी हुन सकिन्न । भौतिकवादी नभइकन समाजवादी हुन सकिन्न । एकातिर, जनताको नेता बन्नुपर्ने, अर्कोतर्फ, थोरै सम्पत्तिले सुविधासम्पन्न हुन नसकिने—यी दुवै कारणले आफू दुईतिर इन्जिन लगाएको गाडीजस्तै हुन्छन् । अनि, राज्यसत्तासित सम्झौताको प्रयत्न गर्दछन् । आन्दोलन सबै चिज हो, अन्तिम उद्देश्य केही पनि होइन भनेर सम्झौता गर्न आन्दोलन गर्दछन् । राज्यसत्तासँग सम्झौता गर्छन् । राज्यसत्तामा सहभागी हुन्छन् । उनीहरू जनताको नेता बन्न जनताको अघि लाग्दैनन्, बरु पछि लाग्छन्, तब मात्र जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउन सकिन्छ र त्यही गर्छन् । यो निम्न पुँजीपति वर्गको राजनीति हो ।
    पुँजीपति वर्गको विरोध गर्ने, आफू समाजवादी व्यवस्था स्थापनाका लागि लगन, अनुशासन, सङ्गठन र दृढताको परिचय दिन नसक्नुको स्वाभाविक परिणाम त्यही हुन्छ । नबुझ्दासम्म जनता यिनीहरूको पछि लाग्छन् । जति जति बुझ्दै जान्छन्, जनता यिनीहरूलाई छाड्दै जान्छन् । यिनीहरूले जनताको काम गर्छन् । गरे पनि जनतालाई सचेत र सङ्गठित बनाउनुभन्दा पिछडिएको चेतनाबाट फाइदा उठाउन सजिलो हुने भएकाले त्यही गर्छन् । उनीहरू सबैले सधैँ त्यसो गरिरहन्छन् । कोही पुँजीपति वर्गमा रूपान्तरण भएर पुँजीपतिको राजनीति गर्छन् । कोहीले सर्वहारा मजदुरको राजनीति बुझ्छन् र त्यतै लाग्छन् । कम्युनिस्ट पार्टी सत्तासिन भएपछि स्थिति फेरिन्छ ।

    राजनीति गर्ने तेस्रो पक्ष सर्वहारा मजदुरका नेता हुन् । यिनीहरू कम्युनिस्ट पार्टीका सदस्य हुन् । कम्युनिस्ट पार्टी सर्वसाधारण जनताको पक्षमा काम गर्ने संस्था हो । कम्युनिस्ट पार्टी जनताको पक्षमा काम गर्ने संस्था भए पनि सर्वसाधारण जनता कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्दैनन् । उनीहरूले धर्म मान्छन्; राजा मान्छन्; नेता मान्छन्; धनीलाई मान्छन्; समग्रमा अरूलाई मान्छन्; तर, आफूलाई मान्दैनन् । आफ्नो मुक्ति आफूले होइन, अरूले गरिदिने विश्वासमा बस्दछन् । कम्युनिस्टहरूले भने आमूल परिवर्तनको उद्देश्यसहित काम गर्छन् ।

    आमूल परिवर्तन सर्वप्रथम विश्वदृष्टिकोणमा गर्ने हो । त्यो भनेको वर्तमान समाज शोषणयुक्त समाज हो । यहाँ मान्छेबाट मान्छेको शोषण हुन्छ । शोषण गर्ने मुख्य शक्ति राज्यसत्ता हो । राज्यसत्ता ठुलो सङ्गठित शक्ति हो । त्यहाँ सेना, पुलिस, कर्मचारी र नेतागण गरी चार वटा शक्तिले संयुक्त रूपमा चर्को शोषण गर्दछन् । व्यक्तिगत सम्पत्ति प्रथा काम राखेर काम गर्ने हुनाले खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगार—यी छ वटै अत्यावश्यक क्षेत्रमा नाफा कमाउन छुट दिइएको हुन्छ । त्यसो गर्दा सर्वसाधारण जनतालाई चर्को शोषणको मार खप्नुपर्छ । जतासुकै शोषण मात्र हुने हुनाले जनताको मुक्ति सम्भव हुन्न ।

    जनताको मुक्ति हुने भनेको मान्छेले मान्छेलाई शोषण गर्न नपाउने अथवा नगर्ने, सबै मान्छे आपसमा मिलेर एक भई प्रकृतिका विरुद्ध सङ्घर्ष गर्न लाग्ने अवस्था हो । त्यसका लागि शोषित वर्गमध्ये सबैभन्दा बढी शोषित सर्वहारा वर्गको नेतृत्वमा सम्पूर्ण ज्यालादारी मजदुर एक भई नाफाखोर शोषकवर्गका विरुद्ध वर्गसङ्घर्ष सञ्चालन गरेर सर्वप्रथम राज्यसत्तामा आमूल परिवर्तन गरेर शोषकवर्गको राज्यसत्ताको ठाउँमा शोषितवर्गको राज्यसत्ता स्थापना गर्नुपर्छ; किनभने, एकदुई जना मान्छेले काम गरेर मान्छेका आवश्यकता पूरा हुँदैनन् । मान्छेले मान्छेलाई शोषण गर्न छुट दिँदा प्रकृति विरुद्धको सङ्घर्ष कमजोर हुन्छ । मान्छेमाथिको शोषण चर्को हुन्छ । त्यसकारण सबै उत्पादनका साधन सामूहिक स्वामित्वमा लगेपछि शोषणको ठाउँ बन्द हुन्छ । त्यो काम वर्गसङ्घर्षबाट नै पूरा हुन सक्छ र पूरा गर्नुपर्छ ।

    शोषित मान्छेको विश्वदृष्टिकोणमा आमूल परिवर्तन गरी धर्म र परम्पराको ठाउँमा सामूहिकता र वर्गसङ्घर्षबाट आमूल परिवर्तनको काम अगाडि बढाउँदै राज्यसत्ता कब्जा गरेर समानताको नारासहित अगाडि बढ्दै जानुपर्छ । त्यसका लागि नाफा कमाउने उद्देश्यको ठाउँमा सबैले ज्याला पाउनेतिर लाग्नुपर्छ ।

    राजनीति गर्ने मान्छेको काम उद्देश्य निर्माणबाट सुरु हुन्छ । ठाँटबाट, धाकधक्कु आदि सामन्तका तरिका हुन् । तिनीहरू पुराना भइसके । पुँजीवादको उद्देश्य नाफा कमाउने हो । त्यसका लागि ठुला उद्योग र धेरै जमिन आफ्नो व्यक्तिगत नाममा दर्ता गर्ने हो । धेरै कामदारलाई रोजगारी दिएर शोषण गरी धेरै नाफा कमाउने हो । यो उद्देश्य बनाउँदैमा सफल हुँदैन । त्यसका लागि शोषण बढाउँदै जानुपर्छ ।

    जनीतिमा लागेर पनि अथवा राज्यसत्तासँग सम्झौता गरेर पनि शोषण बढाउन साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर जनताको पिछडिएको चेतनास्तरबाट फाइदा उठाउँदै गर्ने र शोषण बढाउँदै गर्ने तरिका प्रयोग गर्दा पनि केही व्यक्ति मात्र सम्पन्न वर्गमा रूपान्तरण हुन सक्दछन् । चुनावमा ठुलो धनराशी खर्च गरेर जित्ने र सत्तामा गएर झन् धेरै धनराशी जम्मा गर्ने पनि पुँजीवादी तरिका नै हो । यो राज्यसत्ताको दुरूपयोग गर्ने तरिका हो ।

    वर्तमान व्यवस्था शोषणयुक्त व्यवस्था हो । यसमा आमूल परिवर्तन गर्न सर्वप्रथम राज्यसत्तामा आमूल परिवर्तन गर्नुपर्छ । त्यो भनेको आफूले अहिलेदेखि समाजवादी समाजको नागरिकको भूमिका निर्वाह गर्नुपर्छ । त्यो भनेको आफ्नो उद्देश्यमा आमूल परिवर्तन गर्नुपर्छ भनेको हो ।
    समाजवादी समाजमा तीन थरिका नागरिक हुन्छन् ।

    एक थरि मजदुर हुन्छन् । उनीहरू श्रम गर्छन् र ज्याला लिएर आफ्ना दैनिक आवश्यकता पूरा गर्छन् । उनीहरूले शारीरिक श्रम बढी गर्छन् र बौद्धिक श्रम पनि गर्छन्; तर, थोरै गर्छन् ।

    दोस्रो थरि किसान हुन्छन् । उनीहरूले पनि शारीरिक श्रम बढी गर्छन् र बौद्धिक श्रम थोरै गर्छन् । आफ्नो उत्पादनबाट आफ्नो दैनिक खर्च धान्ने गर्दछन् । यो उत्पादन पनि सामूहिक स्वामित्वअन्तर्गतको उत्पादन हुन्छ ।

    तेस्रो थरिका नागरिक नागरिक बुद्धिजीवी हुन् । उनीहरूले पनि बौद्धिक श्रम धेरै गर्छन् र शारीरिक श्रम थोरै गर्छन् । बौद्धिक श्रमको ज्याला केही धेरै हुन्छ । तर बौद्धिक श्रम पनि सामूहिक स्वामित्वअन्तर्गतका उत्पादनको साधनबाट उत्पादन बढाउनको लागि नै हुन्छ । उत्पादनका साधन व्यक्तिगत स्वामित्वमा रहन्नन्, सबै सामूहिक स्वामित्वमा हुन्छन् । उद्योगधन्दा सरकारी स्वामित्वमा र खेतीकिसानी सहकारी स्वामित्वमा हुन्छन् । सबै नागरिकले ज्यालामा काम गर्ने हो ।

    वर्तमान समाजमा नागरिक हुनेभन्दा पनि नेता हुने होडदङ्गा चलिरहन्छ । नेता हुने भनेको अधिकार आफ्नो हातमा लिने हो । अधिकार आफ्नो हातमा लिएकामध्ये अत्यन्त थोरैले मात्र सामूहिक हितका लागि सदुपयोग गरेका छन् । धेरैले व्यक्तिगत स्वार्थमा दुरूपयोग गर्ने गर्दछन् र गरेका पनि छन् ।

    अधिकार र कर्तव्य एकर्काका परिपूरक हुन् । अधिकार धेरै हुँदा कर्तव्य पनि धेरै हुन्छन्; तर, समाजको पिछडिएका चेतना भएका कारण नेताले अधिकारको दुरूपयोग गर्छन् । जनताले थाहै पाउन्नन् । सामूहिक रूपमा अधिकार र कर्तव्यको परिपालन गर्नुपर्छ । सामूहिक रूप भनेको वर्गीय रूप हो । वर्गीय अधिकार प्राप्त गर्ने र वर्गसङ्घर्ष गरेर कर्तव्य पनि सामूहिक रूपमा पालन गर्ने गर्नुपर्छ ।

    वर्ग भन्दासाथ श्रमजीवी वर्ग र पुँजीजीवी वर्ग पर्दछन् । तिनीहरू परस्पर विरोधी वर्ग हुन् । श्रमजीवी वर्गले श्रम गरेर खर्च टार्दछन् भने पुँजीजीवी वर्गले श्रमजीवी वर्गलाई शोषण गरेर उच्चस्तरीय जीवन बिताउने गर्दछन् ।

    कम्युनिस्ट आन्दोलन श्रमजीवी वर्गको आन्दोलन हो । यो पुँजीजीवी वर्ग विरुद्धको आन्दोलन हो । पुँजी सामूहिक श्रमको उत्पादन हो । त्यसलाई सामूहिक स्वामित्वमा लैजानुपर्छ । व्यक्तिगत स्वामित्वमा उद्योगधन्दा र जमिन राख्न दिँदा शोषणको बाटो फराकिलो हुन्छ । त्यसकारण उद्योगधन्दा र जग्गाजमिन सामूहिक स्वामित्वमा लैजानका लागि श्रमजीवी वर्ग आपसमा एक भई पुँजीजीवी वर्गका विरुद्ध वर्गसङ्घर्ष सञ्चालन गर्नुपर्छ भन्ने कम्युनिस्ट आन्दोलनको उद्देश्य हो ।

    पुँजीजीवी वर्गले श्रमजीवी वर्गलाई शोषण गरिरहन र आन्दोलन दबाउन राज्यसत्ता गठन गरेर सङ्गठित रूप प्रदर्शन गर्ने हुनाले श्रमजीवी वर्गको सङ्गठित रूप कम्युनिस्ट पार्टी गठन गरेर अनुशासित भई एकता प्रदर्शन गर्न सक्नुपर्छ । बिना सङ्घर्ष र एकता न राज्यसत्ता स्थापना गर्न सकिन्छ, न सामूहिक स्वामित्व स्थापना गर्न सकिन्छ । त्यसकारण उद्देश्यमा आमूल परिवर्तन गरेर सङ्गठन, अनुशासन, लगन र दृढताका साथ वर्गसङ्घर्ष सञ्चालन गर्ने र सम्झौताहीन सङ्घर्ष गरेर राज्यसत्तामा र सामूहिक स्वामित्वमा पुग्नुपर्छ । त्यसका लागि जनताको राजनैतिक चेतना उच्च बनाउन पत्रपत्रिका, लेखरचना, गीत, नाच, भाषण, प्रशिक्षण आदिको व्यवस्था गर्दै जानुपर्छ ।

    राजनैतिक व्यक्ति समाजको अगुवा हो । उसले सचेत ढङ्गले जनताको नेतृत्व गर्नुपर्छ । आफू सचेत मात्रै होइन, सतर्क पनि हुनुपर्छ । जनताले आफूजस्तै धर्म मान्ने क्षमता बढाउने काम गर्छन् । त्यस्तो नगर्नेलाई बहिस्कार गर्नेसम्मको काम पनि गर्दछन् । आफू सतर्कतासाथ सचेत भएर त्यस्ता काम नगर्ने र जनतालाई पनि आफूले जस्तै गर्ने गराउन सचेत प्रयत्न गर्नुपर्छ ।

    समाजवादी समाजभन्दा पहिलेका सबै समाजमा कुनै न कुनै रूपमा धर्म कायम रहन्छ अथवा जनताले धर्म मान्ने गर्दछन् । माक्र्सवादी दर्शन धर्म विरोधी दर्शन हो र कम्युनिस्ट पार्टी धर्म विरोधी संस्था हो । पुँजीपति वर्गको लागि धर्म शोषणको बलियो औजार हो । धर्म विरोधी नभइकन कम्युनिस्ट पार्टीको सदस्य बन्न सकिन्न । राजनीतिको काम वर्गसङ्घर्षको काम भएकाले यथास्थितिलाई जोगाउने र आमूल परिवर्तन गर्ने परस्पर विरोधी र राजनीति वा वर्गसङ्घर्षका काम हुन् ।

    कम्युनिस्टहरूले आमूल परिवर्तनको पक्षमा राजनीति गर्दछन् । सर्वप्रथम विश्वदृष्टिकोणमा आमूल परिवर्तन, त्यसपछि राज्यसत्तामा आमूल परिवर्तन, अनि उत्पादनका साधनमा आमूल परिवर्तन र समाजमा आमूल परिवर्तन गरेर मात्र समाजवादी समाज निर्माण गर्ने काम पूरा हुन्छ । यी सबै काम वर्गीय दर्शन, वर्गीय सङ्गठन, वर्गसङ्घर्ष, वर्गीय अधिनायकत्वबाट मात्र पूरा हुन सक्दछन् ।

    यी काममा महत्त्वका हिसाबले सिद्धान्त सबैभन्दा महत्त्वको हुन्छ; दोस्रो महत्त्व राजनीतिको हुन्छ र तेस्रो महत्त्व सङ्गठनको हुन्छ । यी तीन वटै पक्षको महत्त्व आमूल परिवर्तनका लागि हो ।

    आफ्ना नाममा उत्पादनका साधन थपेर अरूलाई काम गराउने र आफू सुविधासम्पन्न भई जीवन बिताउने उद्देश्य राखेर होइन कि आफूले पनि श्रम गरेर नै खर्च टार्ने र आफूजस्ता हजारौँहजारको सङ्ख्यामा रहेका श्रमजीवी वर्गलाई सचेत, सङ्गठित, अनुशासित र दृढ बनाएर आजैदेखि समाजवादी समाज निर्माण गर्नमा आफ्नो योगदान थपेर मात्र पूरा गर्न र जीवनलाई उपयोगी बनाउन सकिन्छ । यो धेरै पुस्ता लाग्ने काम हो ।

    आफू समाजवादी समाजको नागरिक बन्ने उद्देश्य राखेर काम गर्ने हो ।

    समाजमा अनेक थरिका शोषकवर्ग छन् । आफूलाई कि शोषण गर्ने, कि शोषित हुने विकल्प मात्र रोज्न लगाउँछन् । आफूले दुवै विकल्प स्वीकार नगरिकन सङ्गठनकर्ताको तेस्रो विकल्प स्वीकार्नुपर्दछ ।

    राजनीतिमा उद्देश्य राख्दासाथ पूरा भइहाल्छ भन्ने होइन । उद्देश्य फराकिलो राखेर त्यही उद्देश्यको मातहतमा काम गर्दै जानुपर्छ । उद्देश्य विपरीत हुने गरी काम गर्नु हुन्न ।

    जहाँसम्म सर्वहारा बन्ने कुरा छ, त्यो विश्वदृष्टिकोणमा सर्वहारा वर्ग हुने हो । कसैसँग सम्पत्ति छ भने सम्पत्तिले सर्वहारा वन्नमा बाधा–अड्चन गर्दैन, बरु सहयोग नै गर्दछ । सम्पत्ति सामूहिक स्वार्थका लागि उपयोग गर्न सकिन्छ । आफूले श्रम बेचेर खर्च टार्ने काम गर्नलाई सम्पत्ति सहयोगी बनाएर उपयोग गर्नुपर्छ र गर्न सकिन्छ पनि ।

    राजनीति गर्ने जन्तु–जनावरसँग काम गर्ने अथवा रुखबुटासँग काम गर्ने होइन, मान्छेको बिचमा काम गर्ने हो । मान्छे प्रकृतिको सर्वश्रेष्ठ जनावर हो । उसले बुद्धिको प्रयोग गर्छ । बुद्धिको प्रयोग व्यक्तिगत स्वार्थका लागि होइन, वर्गीय स्वार्थका लागि गर्नुपर्छ भन्ने मात्र हो । आफू शाषक नभए शोषित भइहाल्नुपर्छ भन्ने पनि होइन । सामूहिक स्वार्थका लागि काम गर्ने शोषित हुने होइन । महान् उद्देश्य परिपूर्तिका लागि काम गर्ने हो ।

    समाजमा भ्रष्टाचार व्याप्त छ । अन्याय, शोषण, दमन जताततै छ । यो सबै हेर्दा आमूल परिवर्तनको उद्देश्य पूरा नहुनेजस्तो लाग्दछ, तर त्यसो होइन । हामीले वर्तमानलाई मात्रै होइन, भविष्यलाई पनि हेर्नुपर्दछ ।

    राजतन्त्रको समयमा राजतन्त्रको अन्त्य हुने कुनै सङ्केत देखा पर्दैनथे । तर अन्त्य त भएरै छाड्यो । अन्याय, शोषण, दमन खराब कुरा हुन् । समाजका मान्छेले सही मानेका छैनन् । उनीहरूको चेतनामा त्यस्तो नभए हुने थियो भन्ने लागेको छ । त्यो चेतना बढ्दै जान्छ र एक दिन विष्फोट नभई छाड्दैन । त्यही विष्फोटले व्यवस्थाको अन्त्य हुन्छ ।

    पञ्चायती कालमा पञ्चायती व्यवस्था अन्त्य हुने कुनै सङ्केत थिएन । त्यसका विरोधीहरू जेलको चिसो छिँडीमा रहिरहेका थिए । उनीहरू पञ्चायती व्यवस्था फाल्ने आन्दोलनमा सहभागी भएका थिए । जनता कस्सिएपछि कसको के लाग्थ्यो र ? पञ्चायती व्यवस्थाको अन्त्य भएरै छाड्यो । ठिक त्यसैगरी यो अन्यायपूर्ण व्यवस्था अवश्य जाने छ, बरु हामी आफू उदीयमान शक्ति हौँ कि प्रतिगामी शक्ति हौँ ? मूल्याङ्कन त्यतापट्टि गर्नुपर्दछ । हामी आफूहरू उदीयमान शक्ति हौँ भने हाम्रो शक्ति बढ्दै जाने छ । तर प्रतिगामी शक्ति हौँ भने हाम्रो शक्ति घट्दै जाने छ । त्यसकारण उदीयमान शक्ति हुन कोसिस गर्ने हो । समाजवादी समाजमा नागरिक बन्ने काम उदीयमान शक्तिले मात्र गर्न सक्छ । तब मात्र हाम्रो उद्देश्य पूरा हुन्छ ।

    सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पेट्रोलियम पदार्थको विकल्पमा जलविद्युत्‌
    सिजेपीको उदय र जन्तरमन्तरको ३६ दिने आन्दोलन
    विश्व आदिवासी दिवस र प्राप्त अधिकार रक्षाको प्रश्न
    ३२औँ आदिवासी जनजाति दिवसको सन्दर्भमा
    नेपालमा आदिवासी जनजातिको पहिचान र परिभाषा
    नेपालको मजदुर र आन्दोलनको अवस्था र वर्तमान सरकार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल

    • २.
      तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

    • ३.
      काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    • ४.
      राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

    • ५.
      हीरा तरामुको निधनप्रति मसालले दियो श्रद्धाञ्जली

    • ६.
      प्रदेशसभा सांसदलाई पाँच महिनामा एकपटक बोलाइन्छ : सांसद थापा (भिडियो अन्तर्वार्ता)

    • ७.
      प्रहरी महानिरीक्षक कार्की भन्छन् : पाषाणयुगीन मानसिकता बोकेकाहरूबाट हामी शासित हुनुपरिरहेको छ

    • ८.
      जाजरकोटमा बाढीले घर र पुल बगायो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.