काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को सट्टेबाजीमा संलग्न सात जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । प्रहरी परिसरले उनीहरुलाई सोमबार विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिबाट १ लाख ८५ हजार १ सय २० रुपियाँ पनि बरामद भएको परिसरका प्रवक्ता एसपी सोमेन्द्र राठौरले बताउनुभयो ।
एसपी राठौरका अनुसार भारत घर भएका कुलदीप शारणले कालीमाटीले आइपिएलको सट्टेबाजी खेलाउने भन्नेबारे सूचनाको आधारमा पक्राउ गरिएको हो ।
रणलाई प्रहरीले कमलपोखरीस्थित होटल कोनार्कको १०५ नम्बर कोठाबाट पक्राउ गरेको हो ।
शारणबाट एक हजार ७ सय २५ रुपियाँ, एउटा मोबाइल र बा.२६ प.२१०५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ । त्यस्तै, भारतकै सञ्जीव शारणलाई पनि ११ हजार रुपियाँसहित प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर बताउने प्रदीप घिमिरेलाई एक लाख १९ हजार २ सय २५ रुपैयाँ नगदसहित बा ८६ प ३१५ नम्बरको स्कुटरसहित पक्राउ गरिएको छ ।
त्यस्तै, कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटालाई तीन हजार १ सय १० रुपैयाँ र काठमाडौँको सोल्टीमोड बस्ने ५५ वर्षीय अनिलकुमार वंशललाई ३९ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको छ भने भारत उत्तर प्रदेशको कानपुर घर भई कुलेश्वरमा बस्दै आएका अजय गौतमलाई पनि ११ हजार रुपियाँसहित नियन्त्रणमा लिइएको एसपी राठौरले जानकारी दिनुभयो ।