काठमाडौं । कञ्चनपुरमा सवारी दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको ग्राण्डी अस्पतालमा थप उपचार सुरु भएको छ ।
आइतबार राति कञ्चनपुरस्थित झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए । शुक्लाफाँटा नगरपालिका–१० बस्ने भण्डारी र २४ वर्षीय अर्का युवक सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
घाइतेको झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज पठाइएकोे थियो ।
भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई खेल्दै आएका छन् । २०१७ डिसेम्बरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएईसँग खेल्दै डेब्यु गरेका भण्डारी त्यसपछि नियमित रुपमा टिममा रहेका छन् ।

