भरतपुर । गत वर्षदेखि सुरुआत गरिएको मेसिनबाट आलु रोप्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । चितवनको खैरहनी नगरपालिका–१० स्थित कृषक जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत मेसिन प्रयोग गरी आलु रोपिएको हो ।
आलु रोप्ने मेसिन उपलब्ध नहुँदा बाराबाट भारतमा निर्मित मेसिन भाडामा ल्याएर आलु रोपिएको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताए ।
सहकारीमार्फत गत वर्ष दुई बिघामा आलु रोपिएकोमा यस वर्ष सय बिघामा मात्रै रोपिएको उनले जानकारी दिए । गत वर्षदेखि मेसिनबाट आलु रोप्न थालिएको उल्लेख गर्दै उहाँले मेसिन प्रयोग गर्दा खर्च कम हुने र काम गर्न सहज हुने बताए ।
सहकारीमा हाल ८४ किसान आबद्ध छन् । यस वर्ष सहकारीमार्फत रोपिएको समय बिघामध्ये मेसिनबाट १२ बिघामा आलु रोपिएको उनले जानकारी दिए । मेसिनले आलु र मल एकैसाथ रोप्नेछ ।
खैरहनी नगरपालिकाकी कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठका अनुसार खैरहनीमा आलु खेतीको क्षेत्रफल ९६.५ हेक्टर रहेको र उत्पादन एक हजार आठ सय नौ दशमलव ३८ मेट्रिक टन रहेको छ । उनले खैरहनीमा मेसिनबाट आलु रोप्दा उत्पादन राम्रो भएको र एक कठ्ठामा १२ क्विन्टलसम्म फल्ने बताए ।
खैरहनीमा एलआर गोलो, विदेशी ब्लु डायमन्ड, स्वदेशी कार्डिनल तथा बेल्जियम रातोलगायतका आलु उत्पादन हुने गरेको छ । (रासस)