मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक ईभी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेसँगै मृतक सबैको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृत्यु हुनेमा पाँच महिला तथा बालबालिका र नौ पुरुष रहेका छन्। मृतकमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का १३ जना र कबिलासी गाउँपालिका–८ का चालक रविशंकर कुमार मण्डल रहेका छन्।
दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य तीन जनालाई थप उपचारका लागि काठमाडौं र भरतपुरका अस्पतालमा रिफर गरिएको छ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो।





