अबु धाबी (संयुक्त अरब इमिरेट्स), २६ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनर र स्टिभ विटकफले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता तथा युरोप–रुसबीच नयाँ सुरक्षा व्यवस्था निर्माणबारे छलफल गर्न बिहीबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने तयारी गर्नुभएको छ ।
एक्सियोसका अनुसार, अबु धाबीमा भएको दुईदिने शान्ति वार्तामा युरोपको सुरक्षा चासो सम्बोधन गर्ने प्रस्ताव प्रमुख विषय बनेको थियो । अमेरिकी दूतहरूले रुसलाई आफ्ना सुरक्षा माग प्रस्तुत गर्नाका साथै तनाव घटाउने र युरोपेली मुलुकलाई भविष्यमा आक्रमण नगर्ने विश्वास दिलाउने उपाय अघि सार्न आग्रह गर्नुभएको थियो ।
वार्तामा रुसी र युक्रेनी प्रतिनिधिबीच सुरुमा तनाव देखिए पनि पछि छलफल रचनात्मक बनेको थियो । युद्धबन्दी आदानप्रदान गर्ने सहमति पनि भएको र त्यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आदानप्रदान हुन सक्ने बताइएको छ । बन्दीको सङ्ख्या भने पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगको भेटमा तय गरिनेछ ।
अमेरिकाले युक्रेन शान्ति सम्झौता र युरोप–रुस सुरक्षा संरचनाबारे एकैसाथ वार्ता अघि बढाउन चाहेको छ । तर नयाँ सुरक्षा व्यवस्था युद्ध अन्त्य गर्ने सहमति भएपछि मात्र कार्यान्वयन गरिने बताइएको छ । रुसले शान्ति वार्तामा युरोपेली प्रतिनिधिको सहभागिताको विरोध गर्दै आए पनि अमेरिकाले उनीहरूको सहभागिता आवश्यक रहेकोमा जोड दिएको छ ।
जेलेन्स्की र पुटिन दुवैले भविष्यको सुरक्षा प्रत्याभूतिबारे स्पष्टता चाहेकाले सुरक्षा व्यवस्था वार्ताको महत्त्वपूर्ण विषय बनेको स्रोतले जनाएको छ । अमेरिकाले युरोप र युक्रेनको सहमतिबिना रुससँग सुरक्षा सम्झौता नगर्ने तथा युरोपको सुरक्षा चासोमा मस्कोलाई निर्णय रोक्ने अधिकार नदिने स्पष्ट पारेको छ ।
कुशनर र विटकफले बिहीबार राति जेलेन्स्कीसँग भेट्न मस्कोबाट डब्लिन जाने कार्यक्रम छ । प्रस्तावित सुरक्षा व्यवस्थाबारे डब्लिनमा हुने युरोपेली नेताहरूको शिखर सम्मेलनमा पनि छलफल हुने अपेक्षा गरिएको छ । यद्यपि, व्यापक रुस–युरोप सुरक्षा सम्झौताको प्रस्तावप्रति युरोपेली कूटनीतिक वृत्तमा विरोध र अनुत्तरित प्रश्न कायमै रहेको एक्सियोसले जनाएको छ ।





