जुमान सिंह केसी । प्युठान
राष्ट्रिय जनमोर्चा प्युठानले तिहारको अवसरमा जिल्लाका विभिन्न स्थानीय तह तथा वडा स्तरमा प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन गरेको छ।
यसैक्रममा आज औँसीको दिन गौमुखी गाउँपालिकाको ठूलाबेँसी बजारमा राजमोले पार्टीको प्रचारात्मक तथा आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित प्रगतिशील भैलो कार्यक्रम सम्पन्न गरेको हो।
उक्त कार्यक्रमको नेतृत्व राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले गर्नुभएको थियो ।
त्यसैगरी जिल्लाको झिमरुक गाउँपालिका, प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, मल्लरानी गाउँपालिका लगायतका विभिन्न स्थानीय तह तथा वडा स्तरमासमेत देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको राजमो प्युठानले जनाएको छ।
पार्टीको आर्थिक सङ्कलनसँगै राजनीतिक विचार, प्रगतिशील चेतना, देशभक्ति र राष्ट्रियताको पक्षमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो।
उहाँका अनुसार नेपाली मौलिक चाडपर्वको संरक्षण गर्दै आपसी एकता, सद्भाव र भाइचारालाई थप मजबुत बनाउने तथा चाडपर्वलाई रमाइलो र रचनात्मक रूपमा मनाउने उद्देश्यले प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको हो।
राष्ट्रियता, देशभक्ति र प्रगतिशील विचारलाई सांस्कृतिक माध्यमबाट जनतामाझ पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले चाडपर्वमा सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने पार्टीको धारणा रहेको छ।






