दिक्तेलबजार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निवासी पेशलकुमार मगर र दुर्गा आलेमगरको चार वर्षीय छोरा प्रिजल मगर ११ दिनदेखि कान्ति बाल अस्पताल काठमाडौँको सघन उपचार कक्ष (आइसियू) मा उपचाररत छिन् ।
यही कातिक १२ गते सामान्य बान्ता गरेका प्रिजल एक्कासि गम्भीर बिरामी भएपछि उपचारका लागि कात्तिक १३ गते कान्ति बाल अस्पताल भर्ना गरिएको थियो ।
भर्खर विद्यालय भर्ना गरेर ‘कखरा’ सिक्दै गरेका प्रिजलको दुवै मिर्गाैला काम नलाग्ने भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । अस्पताल भर्ना गरेको भोलिपल्टदेखि आइसियूमा राखेर उपचार सुरु गरिएको भन्दै प्रिजलको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल भर्ना गरेपछि अहिलेसम्म पिसाब पनि नगरेका प्रिजलको उपचार नेपालका कुनै पनि अस्पतालमा सम्भव नहुने उपचारमा संलग्न कान्ति बाल अस्पतालकी डा विमला बानियाँले बताइन् । दिनानुदिन स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई कान्ति बाल अस्पतालले भारतको नयाँदिल्लीस्थित सर गङ्गाराम अस्पताल लैजान सुझाव दिइएको उनले उल्लेख गरिन् ।
भारत लगेर चाँडोभन्दा चाँडो उपचार गराउनुपर्ने अस्पतालले बताएको भन्दै बुबा पेशलकुमारले आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले सहयोगका लागि अपिल गरे ।
‘आफूसँग भएको र आफन्तसँग सापटी लिएको रकमले उपचार गरिरहेका छौँ । उपचारमा संलग्न स्वास्थ्यकर्मीले यहाँ ठिक हुँदैन भन्नुभएको छ । बाहिर लगेर उपचार गर्ने खर्च हामीसँगै छैन’ उनले भने– ‘भारतको अस्पतालमा उपचार गर्न रु एक करोड बढी खर्च लाग्छ भन्ने बुझियो । यत्रो पैसा कसरी जुटाउनु ? सबैले सकेको सहयोग गरेर हाम्रो छोरा प्रिजलको ज्यान बचाइदिन अनुरोध छ ।’
जीवनमरणको दोसाँधमा रहेका प्रिजलको जीवनरक्षाका लागि सबैले सकेको आर्थिक सहयोग गरिदिनहुन आग्रह गर्दै फेसबुकमार्फत प्रिजल मगर बचाऔँ अभियान सुरु गरिएको छ । प्रिजलको उपचार गर्न परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको अभियानका सदस्य गिरिराज रानामगरले बताए ।
प्रिजल मगर बचाऔँ अभियानका सदस्यले आफन्त तथा शुभेच्छुकलाई सामाजिक सञ्जालका साथै प्रत्यक्ष भेट गरेर उपचारमा सहयोग गरिदिन अनुरोध गरिरहेका छन् । आर्थिक सहयोग गर्न चाहनुहुनेका लागि प्रिजलका बुबा पेशलकुमारको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं २२७०१००००३१९००१० मा वा उपलब्ध गराइएको ‘क्युआर’ मार्फत सहयोग गरिदिन अभियानका सदस्य गिरिराजले अनुरोध गरे ।
प्रिजलको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि परिवार समस्यामा परेका छन् । उनलाई गुणस्तरीय शिक्षा दिलाउन राजधानी काठमाडौँमा कोठा भाडामा लिएर बस्दै आएका पेशलकुमार र दुर्गाका एक मात्र सन्तान प्रिजलको दुवै मिर्गौला फेल भएपछि परिवारमा चिन्ता बढेको हो ।
तिहारमा चेलीको हातबाट भाइटीका गर्न आफ्नो घर खार्मी आउने तयारी गरिरहेका पेशलकुमार र दुर्गा छोरा प्रिजलको उपचार नेपालमा सम्भव नभएपछि भारत लैजाने योजनामा जुटेका छन् । बडादसैँमा घर नआएका छोराबुहारी र नाति तिहार मान्न आउने आशामा रहेका बुबाआमा नाति प्रिजलको स्वास्थ्यमा जटिल समस्या देखिएको खबर सुनेपछि पीडामा छन् ।





