ईरानराई ##
बैनी
तेरो मृत्युले
धेरै कुरा बिझायो
धेरै कुरा सम्झायो
धेरै कुरा सुझायो
र जन्मायो दोधार–
कि तेरो यो देहावसान
दु:खद् हो
कि सुखद हो
तँ खुसीसाथ मरिस्
कि गुनासोसहित
तेरो मरणमा
इष्टमित्र, छिमेकी शोकाकुल भए
कि उत्सव मनाए हाँसीखुसी
तैँले हामीलाई पिर्छस्
कि दिन्छस् आशीर्वाद
तेरो शरीर मात्रै अचल भएको हो
कि हंस/आत्मा पनि
तैँले धेरै दु:ख गरिस्
धेरै धेरै पीडा खपिस्
अभाव र गरिबीको गरिस् सामना
आमा नहुनुको शोकमा डुबिस्
तँ आफैँले हुर्काएको रोगमा तड्पिइस्
सहिस् गाली र छि: छि: दुरदुर
सबैभन्दा गहिरो चोटचाहिँ
बाँचिस् तँ विनापहिचानको जिन्दगी
अर्थात् यसो भनौँ
एउटी भुइँमान्छेको जुनी काट्न
आफैँ विरुद्ध
गरिस् सक्दो सङ्घर्ष
तेरो र मेरो कोख एउटै
दोख (दोष) एउटै
भोक एउटै
शोक एउटै
लोक एउटै
धेरै कुरा मिलेर पनि
तेरो र मेरो
धेरै कुरा मिलेनन्
समग्रमा मिलेन बाँच्ने तरिका बैनी
तँ मरिस्
बाँचेको छु म
तैँले जे सोच्, जे गर्
सदा सम्झिरहनेछु तँलाई म
सर्वदा गरिरहनेछु माया
स्नेहसहित भावपूर्ण श्रद्धाञ्जली
अलबिदा बैनी !
२०८३ कात्तिक १४ गते शनिवार, बिहान ८:०२ बजे
सृजना टोल, लालीगुराँस टोल विकास संस्था, बराहक्षेत्र नपा–०७, सुनसरी
(यो शोककविता मेरी ठुली बहिनी अनिता राईको देहावसान २०८३ कात्तिक १२ गते बिहीबार बिहान ११:१० बजे कान्छी बहिनी अमलाको घर सोमबारे, बराहक्षेत्र नपा–७ मा सम्भवत: थाइराइडलगायतका रोगका कारण भएपछि उनको स्मृति र सम्मानमा शुद्दाइका दिन—तीन दिनको परम्परा—मा रचिएको हो ।)





