काठमाडौँ । बितेका २४ घण्टामा भएका २४ ओटा बिपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार पाँच सय रुपियाँ बराबरको क्षति भएको छ ।
राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ । क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ ।
यता, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत असोज २५ देखि आजसम्म मादक पदार्थ सेवन गरेका छ सय ७७ जना र लागुऔषध सेवन गरी सवारी चलाएका २६ जना चालकलाई कारबाही गरेको जानकारी दिएको छ ।
उनीहरूमाथि सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही भएको प्रहरीको भनाइ छ ।
सडक दुर्घटनामा किशोरको मृत्यु
यसैबिच, बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्नेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।





