नयाँ दिल्ली । सन्धिखर्क–८, गाजरी निवासी खड्कबहादुर सुनारकी ४१ वर्षीया छोरी निर्मला सुनार (गीता सुनार) गत १ जुन २०२६ देखि भारतको राष्ट्रिय राजधानी क्षेत्र दिल्लीबाट सम्पर्कविहीन हुनुभएको थियो। उहाँलाई खोजतलास गर्ने क्रममा हरियाणाको गुरुग्राम जिल्लाअन्तर्गत पर्ने बन्धवारी गाउँस्थित एक आश्रममा फेला पारिएको छ।
निर्मलाको खोजतलासका लागि उहाँका भाइ बुद्धिसागर सुनारले १० अक्टोबर २०२६ मा मूल प्रवाह केन्द्रीय कार्यालयमा निवेदन दिनुभएको थियो। उक्त निवेदनका आधारमा मूल प्रवाहका उपाध्यक्ष कपिल खनालसहितको टोलीले विभिन्न सम्भावित स्थानमा खोजतलास गरेको थियो। खोजतलासका क्रममा उहाँलाई बन्धवारी गाउँस्थित एक आश्रममा फेला पारिएको हो।
प्राप्त जानकारीअनुसार, निर्मला बिरामी तथा अलपत्र अवस्थामा सडकमा फेला पर्नुभएको थियो। त्यसपछि गस्तीमा रहेको प्रहरीले उहाँलाई सेक्टर–२० प्रहरी थानाको जिम्मा लगाएको र प्रहरी थानाले उहाँलाई बन्धवारी गाउँस्थित एक आश्रममा पठाएको बुझिएको छ।
हाल निर्मलाको स्वास्थ्य अवस्था केही कमजोर रहे पनि सन्तोषजनक रहेको बताइएको छ। उहाँका भाइ बुद्धिसागर सुनारले उहाँलाई स्वदेश फर्काउने तयारी गरिरहनुभएको छ।





