काठमाडौँ । नेपाल सरकारले भारतमा उत्पादित प्रियागोल्ड बिस्कुटको आयात तथा बिक्री वितरणमा रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा रहेका उक्त ब्रान्डका बिस्कुट तथा सम्बन्धित उत्पादन तत्काल फिर्ता गर्न आयातकर्ता र खाद्य व्यवसायीलाई निर्देशन दिएको हो।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले प्रियागोल्ड बिस्कुटमा मानव उपभोगका लागि नभई गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर भेटिएको जनाएको थियो। उक्त चोकरका बोरामा ‘मानव उपभोगका लागि होइन’ भन्ने उल्लेख रहेको विभागले जनाएको छ।
त्यस्तै, बिस्कुट उत्पादन गर्ने भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडको कारखानामा सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थ भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा मर्मतसम्भारमा समेत कमजोरी भेटिएको जनाइएको छ। एफएसएसएआईले कम्पनीको अनुमतिपत्रसमेत निलम्बन गरेको छ।
विभागले कात्तिक १ मा सूचना जारी गर्दै प्रियागोल्ड बिस्कुटको आयात रोक्न र नेपालमा आयात भइसकेका उत्पादनको बिक्री वितरण बन्द गर्न निर्देशन दिएको हो। बजारबाट फिर्ता गरिएका उत्पादनको उचित भण्डारण र अभिलेख राख्न तथा नष्ट गर्नुपर्ने भए स्थानीय प्रशासन वा तहका प्रतिनिधि र विभागका प्राविधिक कर्मचारीको रोहबरमा नष्ट गरी जानकारी गराउन पनि भनिएको छ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) र (४) बमोजिम उक्त आदेश जारी गरेको जनाएको छ।






