काठमाडौँ । नेपाल–जापान दौत्य सम्बन्धको सत्तरिऔँ वार्षिकोत्सवका अवसरमा नोबेल पुरस्कार विजेता जापानी साहित्यकार यासुनारी कावाबाताको आख्यानकृति ‘इजुकी नर्तकी’ को नेपालीमा अनुवादित पुस्तक लोकार्पण गरिएको छ ।
नेपाल वाङ्मय फाउन्डेसन र नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अरुणा वैद्यले अनुवादन गर्नुभएको उक्त कृति लोकार्पण गरिएको हो ।
नेपालका लागि जापानी राजदुत तोरु माएदाले उक्त कृति लोकार्पण गर्दै नेपाल र जापानबिच जनस्तरमा ऐतिहासिक प्रगाढ सम्बन्ध रहेको बताए ।
प्रतिष्ठानका कुलपति कुमार नगरकोटीले नेपाल र जापानका साहित्यलाई एकअर्का देशमा प्रोत्साहन गर्न सरकारीस्तरमै सहमति कायम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

पूर्वमन्त्री एवम् फाउन्डेसनका विशिष्ट सल्लाहकार शङ्करप्रसाद कोइरालाले जापान भाषा साहित्यमा समृद्ध रहेको जनाउँदै नेपाली बजारमा जापानी कृतिको उपस्थित बढाउँदै लैजानुपर्ने आवश्यकतामा जोड दिए ।
जापानका लागि पूर्वरादूत डा मदनकुमार भट्टराईले नेपाल र जापानको कूटनीति सम्बन्ध विस्तार भएको ७० वर्ष भए पनि सामाजिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध भने एक सय २७ वर्षदेखि प्रारम्भ भएको बताए ।
फाउन्डेसनका प्रमुख संरक्षक उमेश श्रेष्ठले नेपाले जापानको शिष्टाचार र साहित्यशैली अध्ययन गर्न आवश्यक रहेको हुँदा अनुवादित कृतिले त्यसमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
विश्वभाषा क्याम्पसका जापानी भाषा विभाग प्रमुख योसिहारु कामिसुराले जापानी साहित्य अनुवाद नेपालमा थोरै रहेका अवस्थामा आख्यान कृति ‘इजुकी नर्तकी’ ले जापानी साहित्य बुझ्न चाहने पाठकलाई सान्दर्भिक पाठ्य सामग्री हुन सक्ने धारणा राखे ।
अनुवादक वैद्यले चारोटा कथा समेटिएको इजुकी नर्तकी आख्यान नेपाली अनुवादमा जापानी साहित्यको मर्म जीवित राखेको प्रष्ट पारे ।






