ब्युनस आयर्स, १ असोज । अर्जेन्टिनाको एक अदालतले फकल्यान्ड टापुनजिक सञ्चालन गर्न लागिएको ब्रिटिश–इजरायली तेल परियोजना रोक्न अन्तरिम आदेश दिएको छ । बेलायत प्रशासित फकल्यान्डमाथि अर्जेन्टिनाले आफ्नो सार्वभौम दाबी दोहो¥याइरहेका बेला अदालतको यो आदेश आएको हो ।
दक्षिणी प्रान्त टिएरा डेल फुएगोको अदालतले १९८२ को युद्धका एक दिग्गज र वातावरणीय कानून व्यवसायीले दायर गरेको मुद्दापछि परियोजना रोक्न आदेश दिएको हो । अदालतले रकहपर एक्सप्लोरेसन र नाभिटास पेट्रोलियमलाई तेल उत्खननका लागि ड्रिलिङ, पूर्वाधार निर्माण तथा हाइड्रोकार्बन निकाल्ने काम नगर्न आदेश दिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन पूरा नभएसम्म आदेश कायम रहनेछ ।
राष्ट्रपति जेभियर मिले नेतृत्वको अर्जेन्टिनाली सरकारले पनि परियोजनाविरुद्ध कानूनी कदम चालेको छ । अर्जेन्टिनाले परियोजनाले संयुक्त राष्ट्रसङ्घका प्रस्ताव उल्लङ्घन गरेको दाबी गर्दै विवाद समाधान नभएसम्म फकल्यान्डमा एकपक्षीय गतिविधि नगर्न आह्वान गरेको छ ।
सन् १९८२ मा फकल्यान्डलाई लिएर बेलायत र अर्जेन्टिनाबीच ७४ दिन युद्ध भएको थियो । युद्धमा ६४९ अर्जेन्टिनी र २५५ बेलायती सैनिक मारिएका थिए । बेलायतले फकल्यान्ड आफ्नो भूभाग भएको दाबी गर्दै अर्जेन्टिनाका अदालतलाई त्यहाँ अधिकारक्षेत्र नरहेको बताउँदै आएको छ ।
फकल्यान्डका बासिन्दाले सन् २०१३ को जनमतसङ्ग्रहमा बेलायतमै रहने पक्षमा मतदान गरेका थिए । अर्जेन्टिनाले भने उक्त परिणाम अस्वीकार गर्दै बेलायतले सन् १८३३ पछि त्यहाँ बसाएको जनसङ्ख्यामा आत्मनिर्णयको अधिकार लागू नहुने तर्क गर्दै आएको छ ।

