दुर्गानाथ खरेल ##
क्रान्तिकारी मजदुरले र कम्युनिस्ट पार्टीका सदस्यले धर्मप्रतिको आफ्नो धारणालाई खुला रूपमा घोषणा गर्नुपर्छ । त्यो उनीहरूको कर्तव्यअन्तर्गत पर्ने काम हो । धर्मप्रति आफ्नो धारणा निश्चित गर्दा आफू स्पष्ट हुनुपर्छ कि धर्म जनताका लागि अफिम हो । त्यो नसालु चिज हो र जनता धर्मको नसामा हुन्छन् । उनीहरू त्यो नसा लागेर लट्ठ परिरहेका हुन्छन् । क्रान्तिकारीहरू यस कुरामा स्पष्ट हुन पर्छ कि वैज्ञानिक समाजवाद अनीश्वरवादी र सबै धर्मको कट्टर विरोधी विचारधारामा आधारित राजनैतिक व्यवस्था हो ।
फायरवाखको भौतिकवाद धर्मलाई नष्ट गर्ने विचार होइन, खराब धर्मको ठाउँमा असल धर्म निर्माण गरेर समाजमा स्थापित गर्ने विचार हो । त्यो धर्म निर्मूल गर्नुपर्ने विचार होइन । माक्र्सले सबै धार्मिक विचारलाई सामन्ती, पुँजीवादी र अन्य सबै प्रतिक्रियावादीका बलिया हतियारका रूपमा सम्झिएका छन् ।
सबै धर्मले पूर्वजन्म र पछिल्लो जन्मको काल्पनिक कुरा उठाएर अर्को जन्ममा मुक्ति दिलाउने कुरा गर्छन् । स्वर्गको कल्पना गरेर अर्को जुनीमा त्यहाँ पुर्याउने विचार मात्रै गर्दैनन्, दया, करुणा, सेवाको कुरा उठाएर यो वास्तविक जुनीमा भरपूर शोषण गर्छन् । जनतालाई दु:ख सहने क्षमताको विकास गराउँछन् । अन्याय, अत्याचार र शोषणको जानकारी हुन्छ तर त्यसका विरुद्ध सङ्गठित रूपमा सङ्घर्ष गर्न रोकेर त्यही स्थितिसँग सम्झौता गर्न धर्मले सिकाउँछ । धर्मले शोषणको वकालत गर्छ । त्यसको विरुद्ध सङ्गठित रूपमा सङ्घर्ष गर्नैपर्ने र समानता कायम गर्नुपर्ने ठाउँमा सम्झौता गरेर दु:खकष्ट सहनुपर्ने अर्तिबुद्धि धर्मले लगाउँछ । अर्को जुनीको कल्पना गरिएको स्वर्ग उपलब्ध गराउने वाचा गर्छ । स्वर्गमा पुगेर परम आनन्द प्राप्त गर्नेतिर वाचाबन्धन गर्दछ ।
सबै धर्मले मजदुरलाई आफ्नो समानता कायम गर्ने उद्देश्यबाट विचलित पार्छन् । शोषण र अन्याय विरुद्ध गर्नुपर्ने सङ्गठित र अनुशासित सङ्घर्ष र समानता कायम गर्ने उद्देश्यबाट विचलित पार्छन् । मजदुरलाई हीनताबोध गराएर डर, त्राससहित शोषण सहने बनाउँछ ।
मजदुर पार्टीको कार्यक्रममा धर्मको विरोध गर्दै आफू अनीश्वरवादी भएको घोषणा गर्नुपर्छ तर धर्मको विरुद्ध युद्ध घोषणा गर्दा धर्ममा पुन: रुचि जागेर त्यसको वास्तविक सम्पत्ति रोक्ने कामको सम्भावना पनि त्यतिकै बढी हुन्छ किनभने त्यसबाट जनताका बिचमा सक्रियता होइन, आतङ्क फैलिने र फैलाउने काम हुन्छ । मजदुरले राजनीतिक रूपमा विभाजन ल्याउने कामलाई कम महत्त्व दिएको ठहर्छ । त्यसबाट राजनीतिक रूपमा सङ्गठित र अनुशासित हुने महत्त्वपूर्ण काम पछि पर्छ । त्यसबाट धर्मको वास्तविक समाप्ति रोक्ने काम हुन जान्छ ।
मजदुरले राजनीतिक कार्यक्रमलाई पहिलो प्राथमिकता दिएर प्रचारप्रसार गर्नुपर्छ । श्रमिक जनतालाई राजनीतिक हिसाबले सङ्गठित गर्ने प्रयत्न गर्नुपर्छ । उनीहरूको अनुशासित वर्गसङ्घर्षबाट मात्रै राजनीतिक विजय सम्भव हुने हो । त्यसैले वास्तवमा सर्वहारा वर्गमा वर्गीय चेतनाको स्तर उठाउने कामलाई उच्च महत्त्व दिएर व्यवहार प्रदर्शन गर्नुपर्छ । त्यसबाट मात्रै धर्मको जरामा नै प्रहार गर्न सकिन्छ ।
अज्ञानता र गरिबीबाट उम्कन नसकेर जनताको मनमष्तिष्कमा धर्मले आसन जमाएको हो । श्रमजीवी वर्गको जीवनमा वर्गीय ज्ञान र वर्गीय मुक्तिभन्दा पहिले धर्म र परम्पराको पहुँच पुगिसकेको हुन्छ । धर्म र परम्परालाई पन्छाएर मात्र वर्गीय ज्ञान, वर्गीय मुक्ति त्यसको लागि अध्ययन, प्रशिक्षण, सङ्घर्ष, सङ्गठन अनुशासन र निरन्तरताले स्थान पाउने हो । त्योभन्दा पहिले खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारको समस्याले उम्कनै नसक्ने गरी बलियो बन्धनले जेलिसकेको हुन्छ । त्यसकारण मजदुरको विश्वास जित्न लामो र दीर्घकालीन योजनासहित प्रस्तुत हुन सक्नुपर्छ । श्रमिक जनतालाई अनुशासित बनाएर वर्गसङ्घर्षमा उतार्नुपर्छ । त्यही वर्गसङ्घर्षले नै वास्तवमा सर्वहारा वर्गलाई सचेत र सङ्गठित बनाउन सक्छ ।
वर्गीय चेतना र वर्गीय मुक्तिको ज्ञानविना धर्मको उन्मूलन हुन सक्दैन । सचेत, सङ्गठित र अनुशासित क्रान्तिकारी, कार्यकर्ताले श्रमजीवी जनताका बिच क्रान्तिकारी व्यवहार प्रदर्शन गर्न एउटा मात्र सम्बन्धको सूत्रले पुग्दैन । धेरै सूत्रद्वारा उनीहरूलाई सङ्गठित पार्नुपर्छ । क्रान्तिकारी राजनीतिक चेतना उच्च बनाउन चारैतिरका आफूसँग सम्बन्धित सूत्रमार्फत् हुने सक्रियताले मात्र सर्वसाधारण श्रमजीवी जनतालाई धर्मको जुवा आफ्नो काँधबाट हटाउन सहयोग पुर्याउन सकिन्छ ।
धर्मको विरुद्ध युद्धको घोषणा गर्नु मजदुर वर्गको पार्टीका लागि अराजकताको काम साबित हुन्छ । धर्मको जरो पहिल्याएर समाप्त नपर्दासम्म समाजबाट धर्म समाप्त हुन सक्दैन । अज्ञानता र गरिबी धर्मको जरा हो । सर्वहारा वर्गको नेतृत्वमा श्रमजीवी वर्ग गोलबन्द भई उठाएको अनुशासित राजनीतिक आन्दोलन विजयी नभएसम्म यो या त्यो रूपको बुर्जुवा व्यवस्था कायमै रहन्छ । त्यसका लागि बुर्जुवा व्यवस्थामा आमूल परिवर्तन गरेर जनताको सजिलै पहुँच भएको राज्यसत्ता स्थापना गर्नुपर्छ ।
जनवादी व्यवस्थामा मात्र उत्पादनका साधनमध्ये ठुला उद्योग राज्यको स्वामित्वमा र जग्गाजमिन सहकारी स्वामित्वमा लैजाने काम सुरु हुन्छ ।
ती दुवै काम उत्पादक वर्गको वर्गसङ्घर्षबाट सम्भव हुने काम हुन् । त्यसपछि रोजगारीको ग्यारेन्टी र सामूहिकता सुरु हुने हो । खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ र रोजगारीका सामूहिक समस्या सामूहिक प्रयत्नबाट समाधान गरिने हो, तब मात्र ज्ञान प्राप्त गर्न विश्वास मात्र होइन, प्रमाण पनि उपलब्ध हुन्छ । काल्पनिक वस्तु स्वत: लोप हुने अवस्था आएपछि मात्र धर्म लोप हुने हो ।
अहिलेको समाजमा विश्वासलाई प्रमुख ज्ञानका रूपमा लिइन्छ । त्यसलाई प्रमाणद्वारा पुष्टि गर्ने प्रयत्न प्राय: शून्य अवस्थामा छ । समाजवादी व्यवस्थाभन्दा पहिलेका सबै व्यवस्थामा धर्मको यो वा त्यो रूप कायम रहन्छ । त्यसकारण राजनीतिक सङ्गठन वर्ग र वर्गीय चेतना, वर्गसङ्घर्ष र वर्गीय मुक्ति आदि कुरालाई अगाडि नल्याईकन धर्म र धर्म विरोधी अभियान अगाडि बढ्ने र सफल हुने सम्भावना रहन्न । कुनै पार्टी या सङ्गठन समूह आदिले अहिले नै धर्म विरोधी अभियान चलाउने दुस्साहस गर्छ भने त्यो क्रान्तिकारी लफ्फाजी माात्र सावित हुनेछ । जनस्तरबाट साथ र सहयोग मिल्ने छैन । त्यसले कुनै ठोस उपलब्धि हासिल गर्ने छैन । त्यसका लागि समाजमा राजनैतिक विभाजन र वर्गसङ्घर्षको अवस्था सिर्जना गर्नुपर्छ । राजनैतिक विभाजनको सट्टा धार्मिक विभाजन ल्याउने प्रयत्नले अथवा धार्मिक विभाजनलाई प्रमुखता दिने कामले मजदुर वर्ग स्वयम्मा विभाजन ल्याउनेछ । मजदुर वर्गका केही तप्का र जनवादीको ध्यान आफ्नो पार्टी, वर्ग र वर्गीय हितबाट हटेर पुँजीवादी पादरीको विरोधतर्फ केन्द्रित हुनेछ । त्यसबाट जनवादीसमेतको ध्यान क्रान्तिकारी सङ्घर्षको तात्कालिक कार्यभारबाट पूरै हट्नेछ ।
मजदुर वर्ग र सर्वहारा वर्गलाई सचेत र सङ्गठित बनाउने काम धैर्यतापूर्वक गर्नु/गराउनुपर्दछ । मजदुरमा वर्गीय चेतना विकास भएको हुन्न । उनीहरू विश्वदृष्टिकोणका हिसाबले निम्नपुँजीवादी हुन्छन् । पुँजीवादी बन्न नसके निम्न पुँजीवादी र अवसरवादी भएका हुन्छन् । सर्वहारा लम्पट सर्वहाराको अवस्थामा हुन्छन् । ती दुवै वर्गलाई वर्गीय हिसाबले र राजनैतिक हिसाबले सचेत र सङ्गठित बनाउन दीर्घकालिन योजनाअन्तर्गत कम गर्नुपर्छ । आफ्नो उच्च योग्यता र सङ्गठित अनुशासनसहित धैर्यतापूर्वक प्रस्तुत हुनपर्छ ।
वर्गसचेत भएर राजनैतिक हिसाबले सङ्गठित हुनु पहिलो काम हो । त्यसका लागि निरन्तरको अध्ययन, प्रशिक्षण सङ्घर्षपछि मात्र धर्म समाप्त गर्न सकिन्छ । धर्मलाई वर्गीय चेतनाले र राजनैतिक चेतनाले विस्थापित गर्ने हो । धर्मका विरुद्ध राजनीतिक दुस्साहस गर्नुहुन्न । त्यसले अनुशासित बन्नेभन्दा अराजक बन्नेतिर अग्रसर बनाउँछ । अनुशासित भई अध्ययन, प्रशिक्षण, सङ्गठन, सङ्घर्ष र निरन्तरताको अवस्थासम्म सचेततापूर्वक डोर्याएर त्यहाँ पुर्याउनुपर्छ । धर्मलाई वैयक्तिक मामिलाको रूपमा लिएर राजनैतिक हिसाबले सचेत र सक्रिय पार्नुपर्छ । धार्मिक कार्यक्रमसँग सम्बन्ध नराखीकन राजनीतिक कार्यक्र अगाडि सार्नुपर्छ ।
डरको पनि एउटा कारण हो कि मान्छेले ईश्वरमाथि आस्था र विश्वास गर्दछ । त्यसकारण राजनीतिमा डर उत्पन्न गराउने होइन, एकआपसमा भर परेर सामूहिक समस्या सामूहिक प्रयत्नबाट नै समाधान गर्ने उच्च उद्देश्यसहित एकाकार हुनुपर्छ । त्यसो गर्दा विपरीत उद्देश्य भई प्रतिशोधको भावना उत्पन्न हुन सक्छ । त्यसबाट पनि सतर्कतापूर्वक वर्ग र वर्गसङ्घर्षलाई अघि बढाउनुपर्छ ।
सत्यको पक्ष लिने, झुटको विरोध गर्ने र स्वतन्त्र चिन्तनको प्रयोग गर्ने नगर्दासम्म व्यक्ति अन्धविश्वासबाट मुक्त हुन सक्दैन । सत्य र झुटको जानकारी गराउन अध्ययन र प्रशिक्षणमा सहभागी बनाउनपर्छ । हरेक व्यक्तिले आफ्नो मनोबल उच्च बनाएर मात्र अरूसँग प्रस्तुत हुनुपर्छ । समाजमा आमूल परिवर्तन गर्न सकिन्छ र त्यसको अगुवाइ मैले गर्ने हो भन्नेमा आफू स्पष्ट भएर सामूहिकताको लागि अरूसँग सम्बन्ध राख्नुपर्छ । अलौकिक वस्तुलाई मान्दा आफू शक्तिहीन अवस्थामा भएको महसुस हुन्छ । त्यसकारण आफै उच्च र साहसी व्यक्ति बन्ने प्रयत्न गर्नुपर्छ ।
माक्र्सवादलाई भौतिक आधारमा व्याख्या गरिन्छ । माक्र्सवाद धर्मको निर्मम विरोधी हो । सबै धर्मको आधार अध्यात्मवाद हो । धर्म विश्वासमा अडेको हुन्छ । सही ज्ञान प्राप्त गर्न विश्वासले मात्र पुग्दैन, प्रमाण पनि जुट्नुपर्छ । विश्वास हुने र प्रमाण जुट्ने भए मात्र सही ज्ञानको पुष्टि हुन सक्छ तर धर्ममा विश्वास मात्र पर्याप्त हुन्छ; प्रमाण जुट्दैन; प्रमाण जुटाउन सकिन्न । त्यसकारण भौतिकवादमा अडेको माक्र्सवाद अध्यात्मवादमा अडेको धर्म परस्पर विरोधी दर्शनमा अडेका विषय हुन् ।
जब व्यक्तिले स्वतन्त्र चिन्तनको प्रयोग गर्छ, त्यतिखेर उ धर्मको विरोधी हुन्छ । त्यसैले माक्र्सवाद कुरा गर्नेमा मात्र सीमित रहन्न तर कुरा के हो भने हामीलाई जनता चाहन्छ । जनतासँग एकाकार हुन नसक्ने व्यक्ति क्रान्तिकारी हुन सक्दैन तर जनता चाहिन्छन् भनेर जनताको पछि लाग्ने होइन । आफू जनताको अघि लाग्ने हो भने पनि जनताको साथसहयोगबाट अलग्गिएर काम लाग्दैन । जनताको साथसाथै र जनतालाई साथमा लिएर अघि बढ्ने हो । धर्मको उद्गम स्थान पत्ता लगाएर त्यसलाई भौतिकवादी तरिकाबाट विचार गर्नुपर्छ ।
समाजमा सर्वसाधारण जनता स्वतन्त्रतापूर्वक बाच्न चाहान्छन् । उनीहरूको दैनिक जीवन सरल बनाउन प्रयत्न गर्छन् । व्यवहारमा त्यस्तो हुन्न । उनीहरू सङ्घर्ष गर्न चाहन्छन् । सङ्घर्ष र सङ्गठन गर्न धर्मले छेकबार लगाउँछ । उनीहरूलाई सङ्घर्ष गर्दा अर्को जुनि पनि बिग्रने र अघिल्लो जुनी बिग्रेकोले यो जुनीमा दु:खकष्ट बेहोर्नुपरेको हो भन्ने शिक्षा धर्मले दिन्छ । उनीहरूमा डरको भावना विकास हुन्छ र धर्मको शरणमा पर्छन् । त्यो कमजोर स्थितिबाट समाजका धनीमानी सम्पन्न वर्गका व्यक्तिहरूले भरपूर फाइदा उठाएर बस्छन् । उनीहरूलाई जस्तोसुकै कठिन अवस्थासित पनि सङ्घर्ष नगरीकन सम्झौता गरेर दु:खकष्ट, शोषण, अन्याय आदि सबै सहने क्षमताको विकास हुन्छ ।
आफ्नो अगाडि प्रष्टसँग वर्तमान जीवनमा अत्याचार र ज्यादती भएको हुन्छ । उनीहरू अर्को जीवनको सुविधामा गडबड हुने डरले सम्झौता गर्न विवश बन्छन् । उनीहरूलाई धर्मको नसाले आनन्द दिएर दु:ख बिर्साइदिएको हुन्छ । जबसम्म उनीहरूले वर्गीय चेतनासहित सङ्गठित र अनुशासित भएर सङ्घर्ष गर्न लाग्दैनन्, तबसम्म स्थिति त्यही रहन्छ ।
धर्मको उद्गम स्थान पत्ता लगाएर त्यसलाई भौतिकवादी तरिकाबाट विचार गर्नुपर्छ । प्रकृति विरुद्धको सङ्घर्ष सबैका लागि आवश्यक छ । मानव समाजका सुरुतिर प्रकृतिका विषयमा धेरै जानकारी थिएन । मान्छेले आफ्नो अज्ञानताका कारणले प्रकृतिका धेरै वस्तुलाई पूजा गर्दथे । अहिले धेरै कुरा अविष्कार भइसकेका छन् तर मान्छेले मान्छेलाई गर्ने शोषणका विषयमा पनि जानकारी भइसकेको छ ।
शोषित वर्गको वर्गीय चेतना र वर्गसङ्घर्षको अवस्था कमजोर छ । आफ्नो वर्गलाई चिनेर, छुट्याएर एकता गर्ने र विरोधी वर्गलाई चुनेर, छुट्याएर सङ्घर्ष गर्ने प्रमुख कर्तव्य बन्न गएको छ । त्यो काम निरपेक्ष रूपमा एकता गर्ने र निरपेक्ष रूपमा सङ्घर्ष गर्ने भनेर हुन्न । विरोधी पक्षसँग एकता गरेको अवस्थामा पनि सङ्घर्षको उच्च अवस्था नभुल्ने र मित्रपक्षसँग सङ्घर्ष गर्दा पनि उच्च प्रकारको एकता कायम गर्ने कुरा भुल्नुहुन्न किनभने मान्छे प्रकृतिको सर्वश्रेष्ठ उत्पादन हो ।
पृथ्वीमा भएका सम्पूर्ण मान्छे आपसमा मित्रभावसहित एक भएर प्रकृति विरुद्ध सङ्घर्ष त गर्नैपर्छ तर शोषणका कारणले वर्तमान अवस्थामा सबै मान्छे एक हुने अवस्था सृजना हुन सकेको छैन । मान्छेले मान्छेलाई शोषण गर्नु निच काम हो तर पनि समाजलाई नियमन त गर्नैपर्छ । नियमन गर्ने भनेको अनुशासनको पालना सबैले गर्नैपर्ने काम हो । आवश्यक भएको विषय आफ्नो वर्गको नेतृत्वअन्तर्गत एक भएर अनुशासित भई काममा खट्ने हो । श्रमजीवी वर्ग सर्वहारा वर्गको नेतृत्वअन्तर्गत एक भएर पुँजीपति वर्गको नेतृत्व विरुद्ध सङ्घर्ष गर्ने हो ।
पुँजीजीवी वर्गको नेतृत्व पुँजीपति वर्गले गर्दछ भने श्रमजीवी वर्गको नेतृत्व सर्वहारा वर्गले गर्दछ । मित्रवर्गसँग एकता नगरीकन शत्रुवर्गसँग सङ्घर्ष गर्न सकिन्न । एकता र सङ्घर्ष दुवै आपसमा सम्बन्धित छन् । वर्गीय एकताविना एकताको औचित्य साबित गर्न सकिन्न । धर्म विरुद्धको सङ्घर्षलाई अमूर्त वैचारिक उपदेशमा सीमित राख्न हुन्न । त्यसलाई ठोस रूपमा वर्गीय आन्दोलनसित जोड्नुपर्छ । त्यसको उद्देश्य धर्मका सामाजिक जरा उन्मूलन गर्ने हो । केटाकेटी तरिकाले भौतिकवादी बनेर हुन्न, जनसाधारणलाई आर्थिक र राजनीतिक क्षेत्रको निश्चित र व्यावहारिक उद्देश्यका लागि गरिने सङ्घर्षको मातहतमा राख्नुपर्छ ।
हाम्रो भाषणबाजीले मात्रै धर्म समाप्त हुन्न । श्रमजीवी वर्गका व्यक्तिमा वर्गीय भावना जगाउने र राजनीतिक आन्दोलनमा सहभागी बनाउने गर्नुपर्छ ।
अहिले धर्म सम्पन्न वर्गको बलियो हतियार भएको छ । धर्मको नाममा दया, करुणा, दान आदिका कुरा गर्ने र आफूले दयाको भिक दिएर ठुलो मान्छे बन्ने गर्छन् । सर्वसाधारण मान्छेलाई भरपूर शोषण गर्ने, उनीहरूलाई गरिब बनाउने अनि आफूले दयाको भिक दिने पनि थप शोषणकै लागि उपयोग गर्ने बुर्जुवा राजनीति हो । राजनीति आफै आर्थिक आधारमा खडा भएको उपरी संरचना हो । त्यसकारण नेतृत्वका लागि सङ्घर्ष चर्को रूपमा भइरहेको हुन्छ ।
बुर्जुवा व्यापार गरेर नाफा कमाउने व्यक्तिलाई बुर्जुवा भनिन्छ । वर्गको नेतृत्व राज्यसत्तामा र समाजमा स्थापित भएको हुन्छ । त्यसको विरुद्ध श्रमजीवी वर्गमध्ये सबैभन्दा शोषित सर्वहारा वर्गको नेतृत्व स्थापित गरेर उसको नेतृत्वअन्तर्गत अरू श्रमजीवी अनुशासित भई सङ्घर्षमा सहभागी हुनुपर्छ । सङ्ख्यामा सबैभन्दा बढी भएका निम्नपुँजीपतिको मोर्चाबन्दी सङ्घर्ष हुन्न । उनीहरूको सबैभन्दा ठुलो डर त्यही सर्वहारा वर्गमा पुग्ने हुन्छ । सर्वहारा र पुँजीपति दुवै परस्पर विरोधी वर्ग हुन् । सङ्ख्याका हिसाबले दुवै वर्ग थोरै हुन्छन् । दुवैले परस्पर विरोधी भई जीवनमारणको सङ्घर्ष गरिरहेका हुन्छन् । सर्वहारा वर्गको उद्देश्य दमन र उदारवाद हुन्छ ।
पुँजीजीवी वर्गको विरोधी श्रमजीवी वर्ग हो । श्रमजीवी वर्गको उद्देश्यमा समाजवाद र वर्गसङ्घर्षको चेतना बलियोसँग विकास नभएको अवस्थामा अवसरको खोजी गर्ने र उच्च सुविधासहित जीवन बिताउने हुन्छ । आफूजस्ता हजारौँहजारको सङ्ख्यामा रहेका श्रमजीवी वर्गको वर्गीय मुक्तिसँग एकाकार हुन सकेका हुन्नन् । तिनीहरूलाई वर्गीय भावनासहित सचेत र सङ्गठित बनाउन कम्युनिस्ट पार्टीको मुख्य भूमिका हुनुपर्छ । एउटा मन्दिरको पुजारी पनि कम्युनिस्ट पार्टीको सदस्य हुन सक्छ, यदि उसले जिम्मेवारीपूर्वक पार्टीको काम गर्छ भने तर पार्टीमा लागेर धर्मको प्रचार गर्न खोज्छ भने तुरुन्तै निष्काशन गरेर प्रवेश निषेध गर्नुपर्छ । धर्म विरुद्धको सङ्घर्ष पुँजीवादी र अवसरवादी स्वार्थको विरुद्ध समाजवादको स्वार्थसहित हुनुपर्छ ।

