काठमाडौँ । जापान नेपाली एकता समाजले युगदर्शन साप्ताहिक सातौँ वर्ष पूरा गरेर आठौँ वर्षमा प्रवेश गरेकोमा बधाई ज्ञापन गरेको छ ।
अध्यक्ष डण्ड केसीको हस्ताक्षरमा २०८३ भदौ २४ गते शुभकामना वक्तव्य पठाउँदै बधाई ज्ञापन गरिएको हो ।
समाजलाई सही सूचना प्रदान गर्ने, जनेचतना अभिवृद्धि गर्ने तथा राज्य र सम्बन्धित निकायलाई जनताप्रति उत्तरदायी बनाउन दायित्व पत्रकारिता क्षेत्रको रहेको बताउँदै समाजले युगदर्शन साप्ताहिकले आफ्नो स्थापना कालदेखि नै सो कार्य गर्दै आएको उल्लेख छ ।
आगामी दिनमा सशक्त, विश्वसनीय र प्रभावकारी सञ्चारमाध्यमका रूपमा स्थापित हुने अपेक्षा गरिएको शुभकामना वक्तव्यको पूर्ण पाठ यस्तो छ :
“नेपालको पत्रकारिता क्षेत्रमा विद्यमान विभिन्न प्रतिकूलता, चुनौती तथा दबाबका बाबजुद पनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय तथा जनताको पक्षमा सत्य, तथ्य र यथार्थपरक सूचना एवम् विचार निरन्तर सम्प्रेषण गर्दै आएको युगदर्शन साप्ताहिकले सातौँ वर्षको सफल यात्रा पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा जापान नेपाली एकता समाजको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।
समाजलाई सही सूचना प्रदान गर्ने, जनचेतना अभिवृद्धि गर्ने तथा राज्य र सम्बन्धित निकायलाई जनताप्रति उत्तरदायी बनाउन खबरदारी गर्ने महत्त्वपूर्ण दायित्व पत्रकारिता क्षेत्रको हो । यसै सन्दर्भमा युगदर्शन साप्ताहिकले आफ्नो स्थापना कालदेखि नै राष्ट्र र जनताका समसामयिक सवाललाई प्राथमिकताका साथ उठान गर्दै श्रमिक, उत्पीडित, उपेक्षित तथा विदेशमा श्रम गर्न बाध्य नेपाली नागरिकका समस्या, अधिकार र सुरक्षाका विषयलाई निरन्तर सार्वजनिक बहसको विषय बनाउँदै आएको योगदान उल्लेखनीय छ ।
वर्तमान समयमा पत्रकारिता क्षेत्रमा व्यावसायिकता र प्रतिस्पर्धासँगै विभिन्न प्रकारका विकृति, विसङ्गति, स्वार्थ र चुनौती देखा परिरहेका छन् । सूचना तथा सञ्चारका माध्यमलाई जनताको हितभन्दा व्यक्तिगत वा संस्थागत स्वार्थपूर्तिको साधन बनाउने प्रवृत्तिका बिच सत्य, तथ्य, जिम्मेवार र जनमुखी पत्रकारिताको निरन्तरता आफैँमा महत्त्वपूर्ण र प्रशंसनीय कार्य हो ।
त्यसैगरी पत्रकारिताको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको अधिकारलाई अझ सुदृढ गर्दै सञ्चारमाध्यमले आफ्नो संवैधानिक एवम् सामाजिक दायित्व निर्वाह गर्नुपर्ने वर्तमान अवस्थामा युगदर्शन साप्ताहिकको भूमिका अझ प्रभावकारी र जिम्मेवार बन्ने विश्वास लिएका छौँ ।
आगामी दिनमा समेत युगदर्शन साप्ताहिकले सत्य, तथ्य, न्याय, सामाजिक रूपान्तरण र जनहितका विषयलाई प्राथमिकतामा राख्दै निष्पक्ष, निर्भीक, उत्तरदायी एवम् सशक्त पत्रकारिताको माध्यमबाट नेपाली समाजलाई सही दिशा प्रदान गर्न निरन्तर योगदान पुर्याउने अपेक्षा गर्दछौँ ।
युगदर्शन साप्ताहिक अझ सशक्त, विश्वसनीय र प्रभावकारी सञ्चारमाध्यमका रूपमा स्थापित हुँदै राष्ट्र र जनताको आवाजलाई अझ बुलन्द बनाउन सफल होस् भन्ने हार्दिक शुभेच्छासहित आठौँ वर्ष प्रवेशको अवसरमा पुन: हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौँ ।”

