काठमाडौँ । भोटेकोशी–ल्हेन्दे बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहमा ठूलो जनधनको क्षति हुँदा पनि सरकार प्रभावकारी उद्धार तथा राहतमा असफल भएको भन्दै संसदमा चर्को आलोचना भएको छ।
बाढी आएको एक सातासम्म प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत प्रभावकारी हुन नसकेको भन्दै विपक्षी दलहरूले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सामाजिक सञ्जालमा देखिए पनि पीडितको उद्धार र राहतमा नदेखिएको आरोप लगाए।
प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बेले सरकार ‘प्राण बचाउनेभन्दा प्रचार मिलाउन केन्द्रित’ भएको आरोप लगाउँदै फिल्डभन्दा सामाजिक सञ्जालमा बढी सक्रिय देखिएको टिप्पणी गरे। उनले संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको बताए।
सरकारकै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले समेत विपद् व्यवस्थापनमा भएका कमजोरी स्वीकार गर्दै विज्ञ, निजी क्षेत्र, नागरिक समाज र अन्तर्राष्ट्रिय सहयोग तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
यसबीच प्रभावित क्षेत्रमा पुगेका केही मन्त्री तथा सांसदको गतिविधि पनि विवादमा परेको छ। राहत र उद्धारभन्दा फोटो खिच्ने, भिड बढाउने तथा स्थानीय जनप्रतिनिधिमाथि आक्रोश पोख्ने गतिविधि भएको भन्दै आलोचना भएपछि रास्वपा सभापति रवि लामिछानेले नेता तथा सांसदलाई ‘डिजास्टर टुरिजम’ नगर्न र अनावश्यक रूपमा प्रभावित क्षेत्रबाट फर्किन निर्देशन दिएका छन्।
बाढीपीडित नागरिक उद्धार र राहतको प्रतीक्षामा रहँदा सरकारको कमजोर समन्वय, ढिलो प्रतिक्रिया र प्रचारमुखी गतिविधिले विपद् व्यवस्थापनप्रति सरकारको गम्भीरतामाथि नै प्रश्न उठेको छ।

