पोखरा, भदौ १४ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विश्व र नेपालको कम्युनिस्ट आन्दोलन आदर्श तथा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट क्रमशः विचलित हुँदै गएकाले आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताउनु भएको छ ।
भदौ १४ गते आइतबार पोखरामा आयोजित टेकनाथ बरालको तेस्रो स्मृति दिवस तथा स्मृतिग्रन्थ लोकार्पण समारोहमा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै सिंहले कम्युनिस्ट आन्दोलनमा देखिएको वैचारिक विचलनका कारणबारे गम्भीर अध्ययन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “किन कम्युनिस्ट आन्दोलन आदर्शवादबाट विचलित हुँदै गइरहेको छ भन्ने विषयमा मैले आफ्नो बाँकी जीवन अध्ययन र लेखनमा लगाउने विचार गरेको छु।”

सिंहले कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगे पनि यसको भविष्य निराशाजनक नरहेको स्पष्ट पार्नुभयो । विश्व कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल रहेको दाबी गर्दै उहाँले त्यसको आधार दर्शन र सिद्धान्तमा खोजिनुपर्ने बताउनु भयो ।
“विश्व कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ । त्यसको भविष्य दर्शन र सिद्धान्तमा खोज्नुपर्दछ,” सिंहले भन्नुभयो ।
टेकनाथ बराल अध्ययन केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा दिवंगत वामपन्थी नेता टेकनाथ बरालको राजनीतिक, वैचारिक तथा सामाजिक योगदानको स्मरण गरिएको थियो । कार्यक्रममा बरालको जीवन, विचार र योगदान समेटिएको स्मृतिग्रन्थ लोकार्पण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता टेकनाथ बराल अध्ययन केन्द्रका अध्यक्ष तथा दिवंगत बरालका पुत्र विद्या विमल बरालले गरेका थिए।
सोही अवसरमा वामपन्थी नेता अमिक शेरचनलाई टेकनाथ बराल अध्ययन केन्द्रको तर्फबाट सम्मान गरिएको थियो ।

