काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
शाखाका सचिव रमेश कुमार बोहोराले जारी गरेको प्रेस विज्ञप्तिमा रकम कटौतीको निर्णयले विशेषगरी साना लगानी तथा स्वरोजगारमूलक सञ्चारमाध्यम आर्थिक संकटमा पर्ने, सञ्चार संस्था बन्द हुने र पत्रकारले रोजगारी गुमाउने अवस्था सिर्जना हुन सक्ने उल्लेख गरिएको छ।
महासंघले लोककल्याणकारी विज्ञापनलाई सरकार वा राजनीतिक दलको कृपाका रूपमा नभई नागरिकलाई सार्वजनिक सूचना पुर्याउने सञ्चारमाध्यमको भूमिकाको संस्थागत सम्बोधनका रूपमा लिनुपर्ने जनाएको छ। सरकारी विज्ञापनलाई नियन्त्रणको माध्यम बनाउनु प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष हस्तक्षेप हुने शाखाको भनाइ छ।
शाखाले विज्ञापन कटौतीको निर्णय पुनरावलोकन गरी सरकारी विज्ञापन वितरणमा पारदर्शी, समानुपातिक र न्यायपूर्ण प्रणाली लागू गर्न तथा साना सञ्चारमाध्यमको संरक्षणका लागि प्रभावकारी नीति ल्याउन माग गरेको छ।
सरकारले निर्णय नसच्याए देशभरका पत्रकार, सम्पादक, प्रकाशक तथा प्रेस स्वतन्त्रताका पक्षधर संघ–संस्थासँग सहकार्य गरी चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत शाखाले दिएको छ ।


