काठमाडौँ, भदौ १० । तिब्बतबाट आएको अप्रत्याशित बाढीका कारण रसुवासहित विभिन्न जिल्लामा नदीको सतह बढ्दा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ । विपद्को अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय जनमोर्चाले बाढी–पहिरोमा फसेका नागरिकको तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.द्वारा भदौ १० गते बुधबार जारी प्रेस वक्तव्यमा बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार प्रतिकार्यलाई प्रभावकारी बनाउन तथा पीडितलाई आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको छ ।
विपद्को यस घडीमा सरकारले जारी गर्ने सूचना तथा निर्देशनको पालना गर्दै सम्बद्ध क्षेत्रका नागरिकलाई सतर्क रहन पनि राष्ट्रिय जनमोर्चाले अपिल गरेको छ । अध्यक्ष के.सी.ले २०८३ भाद्र १० गते जारी गरेको वक्तव्यमा विपद्का कारण प्रभावित नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै तत्काल आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरिएको छ ।
प्रेस वक्तव्यमा लेखिएको छ :
“तिब्बतबाट आएको अप्रत्यासित बाढीको कारण रसुवासहितका जिल्लाहरूमा नदीको सतह बढ्न गई आएको बाढी पहिरोका कारण थुप्रै जनधनको क्षति भएको अनुमान गरिएको छ । सर्वप्रथमत सरकारसँग बाढी पहिरोमा फसेका जनतालाई तुरुन्तै उद्धार प्रतिकार्य तथा राहतको आवश्यक व्यवस्था गर्न अनुरोध गर्दछौँ । विपतको यस घडीमा सरकारले दिएको सूचना मुताविक सम्बद्ध क्षेत्रका जनताले त्यसलाई पालना गर्न र सतर्क रहन राष्ट्रिय जनमोर्चाले अपिल गर्दछ ।”
२०८३ भाद्र १० गते ।
चित्रबहादुर के.सी.
अध्यक्ष

